हेटौंडा / मदन भण्डारी राजमार्गअन्तर्गत हेटौंडा-सिन्धुली खण्डको करिब डेढ किलोमिटर सडक अझै निर्माण हुन सकेको छैन । झण्डै १२० किलोमिटर लामो यो खण्ड दुई वर्षदेखि सञ्चालनमा आए पनि केही स्थानमा स्थानीयको अवरोध र पछिल्लो समय बजेट अभावका कारण सडक निर्माण अधुरो रहेको हो ।
सिन्धुलीतर्फको ८५ र हेटौंडातर्फको ३५ किलोमिटर सडकमध्ये अधिकांश कालोपत्रे भए पनि कमलामाई नगरपालिका–६ र ४ नम्बर वडाका चार स्थानमा अझै सडक बनेको छैन । सुरुमा मुआब्जा र सडक मापदण्डका विषयमा स्थानीयको असहमति थियो । अहिले सहमति बने पनि काम अघि बढ्न सकेको छैन ।
कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेलका अनुसार नाली बाहेक ११ मिटर सडक बनाउने सहमति पछि अधिकांश स्थानमा निर्माण सम्पन्न भए पनि विवादित क्षेत्र छाडेर निर्माण कम्पनीले काम सम्पन्न गरिसकेको छ । ती खण्ड सडक विभागलाई हस्तान्तरण भइसकेपछि छुटेका भागका लागि पुनः बजेट माग गर्नु परेको उनले बताए ।
डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख गुरु अधिकारीका अनुसार अधुरो सडक निर्माणका लागि चालु आर्थिक वर्षमा माग गरिएको बजेट नपरेको र अब आगामी वर्षका लागि प्रक्रिया थालिएको छ ।
विवादका कारण वडा नम्बर ६ को धुरानसिरान, वडा नम्बर ४ को ढकालगाउँ, साङबाले, खट्टार, मरिण र हरिहरपुरगढीमा करिब डेढ किलोमिटर सडक निर्माण हुन सकेको छैन ।
यसैबीच, ग्वाङ्खोलामा २०६५ सालमा बनेको जीर्ण पुल अझै पनि प्रयोगमा छ। कमजोर संरचना भएका कारण अहिले सो पुल एकतर्फी मात्र सञ्चालन भइरहेको छ ।
यद्यपि बाँकी सडक दुई लेन कालोपत्रे भएकाले सिन्धुलीबाट हेटौंडा यात्रा सहज छ । ट्राफिक चाप न्यून भएकाले करिब साढे दुई घण्टामै गन्तव्य पुग्न सकिने यात्रुहरू बताउँछन् ।