प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरगढीमा कुन पार्टीबाट कसको नाम चर्चा, स्थानीय तहको चुनावमा कस्ले जित्नुपर्ला ?

२०७८ चैत्र १५, मंगलबार १३:०८ बजे

हेटौंडा – स्थानीय तहको चुनाव आउन अब डेढ महिना भन्दा कम समय बाँकी छ । देशभर एमाले, कांगेस, माओवादी, समाजवादी लगायत पार्टीले गाउँगाउँ तथा टोलटोलमा सक्रियता बढाएको छ भने विभिन्न पार्टीका प्रतिनिधिले स्थानीय निर्वाचनको लागि उम्मेद्वारी घोषणा गरिहेका छन् ।

मकवानपुरमा विभिन्न राजनीतिक दलका पदाधिकारी तथा सदस्यले विभिन्न पदमा उम्मेद्वारी घोषणा गरिरहेका छन् । त्यस्तै मकवानपुरगढी गाउँपालिकामा कुन पार्टीबाट क–कस्ले टिकट पाउलान् ? चर्चाको बिषय बनेको छ भने यसपटकको निर्वाचनमा कुन पार्टीले बाजी मार्ला भनेर राजनीतिका शुभेच्छुक तथा सर्वसाधारणले हारजीतको विश्लेषण गर्न थालेका छन् ।

सोही विषयमा प्रहरखबर डटकमले मकवानपुरगढीको भाबी अध्यक्षमा चर्चामा आएका नाम, अध्यक्षको उम्मेद्वार हुन सक्ने सम्भावना र राजनीतिक पार्टीका अवस्थाबारे चर्चा गरेका छौँ ।

एमालेमा हुमागाईं बाहेक छैन विकल्प
मकवानपुरगढीको नेतृत्व गर्न एमालेबाट हाल गाउँपालिका अध्यक्ष विदुर हुमागाईं दोहोरीने सम्भावना बढी छ । उनी निकट कार्यकता तथा नेताहरुका अनुसार गढी पालिका कमिटीको इन्चार्ज समेत रहेका हुमागाईं पुनःअध्यक्ष पदको उम्मेद्वार निश्चित जस्तै देखिन्छ । त्यस्तै एमाले गढी पालिका कमिटी अध्यक्ष रामजी सापकोटाको नाम पनि चर्चामा रहेको छ ।

कांग्रेसमा लामाको सम्भावना बढी
नेपाली कांग्रेसबाट भने ८ जना भन्दा बढी अध्यक्षका आकांक्षी देखिन्छन् । दोर्जे लामा स्याङ्तान, यतिराज सापकोटा, बलराम घिमिरे, राजवीर मुक्तान, गोपी अधिकारी, सुर्यबहादुर रुम्बा, गोपाल गौतम, विष्णुप्रसाद न्यौपाने, शिवप्रसाद न्यौपानेलगायतको नाम चर्चामा रहेको छ । गत चुनावमा पराजित भएका दोर्जे लामा स्याङ्तानको सम्भावना बढी छ । तामाङ समुदायको बाहुल्यता रहेको मकवानपुरगढीमा उनी गत चुनावमा झिनो मतान्तरले पराजित भएको थिए ।

माओवादी केन्द्र अध्यक्षमा छैन आश, उपाध्यक्षमा मानकुमारीको च्याँखे
यसअधिको स्थानीय निकायको चुनावमा मकवानपुरगढीमा एक वडामा जीत हासिल गर्न नसेको माओवादी केन्द्र, यसपटकको चुनावमा उपाध्यक्ष पदमा च्याँखे थाप्ने दाउमा रहेको छ । गत चुनावमा पाएको मत र माओवादीप्रति गुम्दै गएको जनविश्वासलाई ध्यान पुर्याएर गाउँपालिकामा प्रतिनिधित्व गर्न पनि माओवादी एमाले वा कांग्रेससंग चुनावी तालमेल गर्न चाहन्छ । उपाध्यक्षमा माओवादी केन्द्रकी केन्द्रीय सदस्य मानकुमारी पाख्रिन (नेपाली) को नाम चर्चामा छ । उपाध्यक्षमा महिला उम्मेद्वार बढी हुने भएकोले उनको सम्भावना प्रवल नै छ ।

राप्रपालाई कमल थापाको प्रभाव
राजेन्द्र लिङ्देनको नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई कमल थापा नेतृत्वको राप्रपा नेपालको प्रभाव परेको देखिन्छ । थापाको गृह जिल्ला भएको कारण प्रभाव परेको हो । लिङ्देन नेतृत्वको जिल्ला कमिटीले संस्थापन पक्षबाटै चुनावमा उत्रिने र चुनावी गतिविधि संचालन गर्ने भनिए पनि चहलपहल शुन्य रहेको छ । कताबाट उम्मेद्वारको आकांक्षा ब्यक्त गर्ने ? दोधार भएको देखिन्छ । तर, राप्रपा मकवानपुरगढी पालिका कमिटी अध्यक्ष कृष्ण विडारी, जिल्ला कमिटी सदस्य द्वय अर्जुन गौतम र मुकन्द न्यौपानको नाम चर्चामा छ ।

समाजवादीमा दाहाल अग्रपङ्तीमा
नेकपा एकीकृत समाजवादी गढी पालिका कमिटीको अध्यक्ष अर्जुनप्रसाद दाहाल अग्रपङ्तीमा छन् । नेपाली कांग्रेस परित्याग गरी गढीमा एसको नेतृत्व गरेका दाहाल बाहेक अरुको नाम चर्चा छैन ।

अध्यक्ष र उपाध्यक्षमा झिनो मतान्तर

विं.सं.२०७४ सालको स्थानीय तहको चुनावमा एमालले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ वडामा जित हासिल गरेको थियो । नेपाली कांग्रेसले समान ४ वडामा जित हासिल गर्दै सशक्त प्रस्तुती जनाएको थियो भने माओवादी र राप्रपा चुनावी सहभागितामै सीमित रहेको थियो ।

गाउँपालिका अध्यक्षमा एमालेका उम्मेद्वार विदुर हुमागाईं १६१ र उपाध्यक्षमा एमालेकै हर्कमाया रुम्बा १० मतले विजयी भएका थिए । अध्यक्षमा हुमागाईंले ३ हजार ८१४ र रुम्बाले ३ हजार ७१७ मत प्राप्त गरेका थिए । उनीहरुका निकटतम् प्रतिद्वन्दी कांग्रेसका अध्यक्षका उम्मेद्वार दोर्जे लामा स्याङ्तानले ३ हजार ६५३ र उपाध्यक्षमा मन्दिरा केसीले ३ हजार ७०७ मत प्राप्त गरेका थिए । त्यस्तै माओवादीको अध्यक्षको उम्मेद्वार भीम पाख्रीनले १ हजार ६३३ र उपाध्यक्षमा १ हजार ५९९ मत ल्याएका थिए । राप्रपाका खिलप्रसाद चौलागाईं र हीरादेवी हुमागाईंले अध्यक्ष र उपाध्यक्षमा क्रमशः ९५० र ८९८ मत प्राप्त गरेका थिए ।

एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा
आगामी एमालेलाई नजिकको प्रतिद्वन्दी गत चुनावमा चार वडामा जित हासिल गरेको कांग्रेस हो । एक्लाएक्लै चुनाव लड्ने हो भने आगामी चुनावमा गढीमा एमाले र कांग्रेसको कडा प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेसलाई एमालेले हाराउँदै पुनः गाउँपालिकामा जित हासिल गर्न सजिलो भने छैन । त्यस्तै एमालेलाई कांग्रेसले हराउन पनि त्यती सहज छैन ।
गत चुनावमा कांग्रेस पराजित भएको वडामा ती वटा वडामा प्रतिद्वन्दीको रुपमा रहेको थियो भने एमाले पनि तीनै वडामा प्रतिद्वन्दी थियो । आमोवादी र राप्रपा समान एकएक वडामा प्रतिद्वन्दीको रुपमा रहेको थियो ।

एमालेको फुट कांग्रेसलाई भारी
पछिल्लो राजनीतिक घटनाक्रमका कारण पार्टी फुट्ने, छाड्ने र प्रवेशको लहर छ । मकवानपुरगढीमा एमाले फुटले कांग्रेसलाई भारी पर्ने देखिन्छ । कांग्रेस मकवानपुरगढी सभापतिमा पराजित भएका अर्जुनप्रसाद दाहालको कारण कांग्रेसलाई भारी पर्ने देखिएको हो । दाहाल निकै प्रभावशाली नेता हुन् । उनी अहिले कांग्रेस परित्याग गरी नेकपा एस मकवानपुरगढीको नेतृत्व गरिरहेका छन् । उनी एसबाट आगामी चुनावमा अध्यक्ष उम्मेद्वार बन्ने निश्चत जस्तै छ । चुच्चेखोला सामुदायिक वनदेखि विभिन्न सहकारीको नेतृत्व गरी जनताको मन जितेका दाहालले एमालेको भन्दा पनि कांग्रेसकै मत बढी तान्ने निश्चित छ ।

वडामा कांग्रेस र एमाले बराबर
गाउँपालिकाको ८ वडामध्ये एमालेले ३,४,५ र ६ मा आफ्नो कब्जा जमाउँदा १,२,७ र ८ मा बाजी मारेको थियो । कुनै समय राप्रपा र माओवादीको गढीको ४ नम्बर वडा, सुकौरा र वुढीचौरमा राम्रो छाप थियो । दुबै पाटीले सामान्य चुनौती प्रस्तुत गरेपनि विजयी हासिल गर्न सकेन ।

गाउँपालिकाको वडा नं.१ मा कांग्रेसका उम्मेद्वार आइतसिं लो ४६५ र २ मा बखानसिं पाख्रिन ७०१ मत ल्याएर विजयी भएका थिए । वडा नं. १ मा एमालेका फुलमान गोलेले ३३६, माओवादीका बलबहादुर थिङले ८५ र राप्रपाका ध्वजबहादुर भोम्जनले २८ मत प्राप्त गरेका थिए । त्यस्तै वडा नं.२ मा एमालेकी माया बलले ३९८, प्रेमचन्द्र मगरले १८९ र राप्रपाका अर्जुनप्रसाद गौतमले १६७ मत प्राप्त गरेका थिए ।

वडा नं.३,४,५ र ६ मा एमालेका क्रमशः भागबत घिमिरेले ७००, रामप्रसाद तिमल्सिनाले ३३७, जीतबहादुर घिमिरेले ७२२ र टीकाप्रसाद दाहालले ५७३ मतसहित विजयी भएका थिए । जसअन्तर्गत वडा नं.३ मा कांगे्रसका विष्णुप्रसाद न्यौपानेले ५५४, माओवादीका कृष्णप्रसाद दाहालले ६९ र राप्रका राजकुमार दाहालले १५३ मत प्राप्त गर्दा वडा नं.४ मा राप्रपाका चुढाबहादुर बन्जाराले २७९, माओवादीका हेमबहादुर योम्जनले २७७ र कांग्रेसका लोकनाथ आचार्यले २११ मत ल्याएका थिए । उता वडा नंं.५ मा कांग्रेसका दीर्घबहादुर थापाले ४७४, माओवादीका युवराज सापकोटा ३६४ र राप्रपाका जयराम तिमल्सिनाले ६८ मत पाउँदा वडा नं. ६ मा कांग्रेसका कृष्णप्रसाद बजगाईले ५२६, माओवादीका लिलानाथ न्यौपानेले १०१ र राप्रपाका काजीबहादुर बुढाथोकीले ८८ मत प्राप्त गरेका थिए ।

वडा नं.७ मा कांग्रेसका सूर्यबहादुर रुम्बा ५०८ र ८ मा कुमारसिं घिसिङ ३७० मत प्राप्त गरी विजयी भएका थिए । वडा नंं.७ मा एमालेका बीरबहादुर रुम्बा २५४, माओवादीका प्रकाश योन्जन ३५८ र राप्रपाका सिंहबहादुर मुक्तानले १३१ मत ल्याउँदा वडा नं.८ मा एमालेका एक्काबहादुर थिङले २७७, माओवादीका रोलबहादुर गोलेले १४७ र राप्रपाका सीताराम पुडासैनीले १४ मत प्राप्त गरेका थिए ।

मकवानपुरढीमा गत स्थानीय तहको चुनावी मत परिणामलाई आधार मान्ने हो भने अध्यक्ष र उपाध्यक्षमा विजयी भएका एमालेका उम्मेद्वार, दोस्रो कांग्रेसबीचको मतान्तर धेरै छैन । अध्यक्षमा एमाले र कांग्रेसबीचको १६२ र उपाध्यक्षमा १० मतको मात्रै अन्तर छ । माओवादी र राप्रपाको भने लामो नै अन्तर छ ।
त्यस्तै वडामा वडा नं. १ मा १२९ र २ मा ३०३ मतको कांग्रेस र एमालेबीच अन्तर रहेको छ । त्यस्तै वडा नं.३ मा १४६, ५ मा २४८, ६ मा ४७ मतको एमाले र कांग्रेसबीचको मतान्तर रहेको छ भने वडा नं.४ मा एमालेको राप्रपासँग ५८ मतको फरक रहेको छ । त्यसैगरी वडा नं.७ मा कांग्रेसको माओवादीसँग १५० मतको अन्तर रहँदा वडा नं. ७ मा कांग्रेसको एमालेसँग ९३ मतको अन्तर रहेको छ ।

यस्तो छ मतदाताको हाल र विगत
मकवानपुरगढीमा पाँच बर्षमा ४ हजार ७८८ मतदाता थपिएका छन् । गत स्थानीय तहको चुनावमा १४ हजार ३३० मतदाता थिए । हाल बढेर मतदाताको सङ्ख्या १९ हजार ११८ पुगेको छ । यो नै स्थानीय निर्वाचनको अन्तिम नामावली हो । जसमा महिला ९ हजार २१९ र पुरुष ९८९९ रहेका छन् ।

गत स्थानीय चुनावमा १० हजार ६६४ (७४.४२ प्रतिशत) मत खसेको थियो । जसमा सदर १० हजार ४१५ (९७.६७ प्रतिशत) र बदर २४९(२.३२ प्रतिशत) मत रहेको थियो ।

गाउँपालिकामा विजयी अध्यक्षका उम्मेद्वारले पाएको मत भन्दा बढी मतदाताको संख्या थपिएको छ । थपिएका मतदाताको मत निर्णायक हुने देखिन्छ । पार्टीभित्र विभिन्न नेताहरुबीच टिकटको लबिङ भएपनि नाम भने सार्वजनिक भएको छैन । गाउँपालिका अध्यक्षदेखि वडाध्यक्ष पुनः दोहोरिने पक्षमा छन् । उम्मेदवारीको लागि आकाँक्षा ब्यक्त गर्नु एउटा प्रक्रिया हो । चुनावको लागि टिकट कस्ले पाउँछ त्यो महत्वपुर्ण हो । पार्टीको नेतृत्वकर्ताले कसलाई टिकट दिन्छ त्यो भने र्हेन बाँकी छ ।

त्यस्तै पार्टी टुटफुट गराउने नेतृत्वकर्ताको पेशा र पार्टी छाड्ने–समात्ने कार्यकताको पेशाकै रुपमा परिचित भएको छ । केही स्वार्थले र केही निस्वार्थ रुपमा पार्टी प्रवेश गर्ने छन् । यसले मकवानपुरगढीमा चुनावको माहोलमा प्रभाव पर्ने देखिन्छ । तर, हारजितको सुनिश्चित मत हुने भएकोले त्यो चुनावी मत परिणामले नै बताउँछ ।