प्रहर खबर
 २०८३ श्रावण ७, बिहीवार    

संविधानको मर्म र भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्रको निर्माण गर्नु सबैको दायित्व: बागमती प्रदेश प्रमुख शर्मा

२०७९ जेठ १५, आईतबार ०५:१० बजे

मकवानपुर – बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक एवं समावेशीता सहितको संविधानको मर्म र भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्रको निर्माण गर्नु सबैको दायित्व भएको बताएका छन् । पन्ध्रौं गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले लोकतान्त्रिक गणतन्त्रले हामीलाई अधिकार सम्पन्न मात्र नबनाई मुलुकमा सुशासन, विकास एवं समृद्दिको आधार समेत तयार गरिदिएको उल्लेख गरेका छन् ।


नेपाली जनताका प्रतिनिधिमार्फत २०६५, जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरिएको दिनको स्मरणमा जारी गरिएको शुभकामना सन्देशमा प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई एवं दिदीबहिनीहरुमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् । शर्माले गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात, अज्ञात अमर शहीदहरूप्रति श्रद्दासुमन अर्पण गर्दै बेपत्ता, घाईते तथा अपाङ्ग योद्धाहरुमा उच्च सम्मान समेत प्रकट गरेका छन् ।

प्रमुख शर्माले आफ्नो शुभकामना सन्देशमा जनआन्दोलनको जगमा स्थापित गणतान्त्रिक मुलुकमा संविधान निर्माण गरी जनताका हक अधिकारहरु सुनिश्चित गरिसकिएको उल्लेख गर्दै भनेका छन्, ‘ऐतिहासिक जनआन्दोलन २०६२र०६३ को जगमा शाहवंशीय राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भई जनताको प्रतिनिधि जनता आफैंले छनौट गर्न पाउने लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएको पन्ध्रौ वर्षमा प्रवेश गरिरहँदा संविधानसभामार्फत संविधान निर्माण गरी जनताका हक अधिकारहरु सुनिश्चित गरिसकिएको छ । ’

यस्तै, सन्देशमा सार्वभौमसत्ता पूर्ण रुपमा जनतामा निहित रही जननिर्वाचित प्रतिनिधिबाट शासन र सरकार सञ्चालन हुने उत्कृष्ट प्रणालीको संस्थागत विकास भएको पनि उल्लेख छ । उनले भनेका छन्,‘यो हामी नेपालीका लागि सुखद् र अत्यन्त गौरवको विषय हो । लोकतान्त्रिक गणतन्त्रले हामीलाई अधिकार सम्पन्न मात्र बनाएको छैन, मुलुकमा सुशासन, विकास एवं समृद्दिको आधार समेत तयार गरिदिएको छ ।’

नेपाल र नेपालीहरुको उज्ज्वल भविष्यका लागि गणतन्त्र स्थापनाले जीवनका आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणसहितको सभ्य, सुसंस्कृत र समुन्नत समाज निर्माणमा मार्ग प्रसस्त गर्न सकोस् भन्ने कामना गर्दै प्रमुख शर्माले यो दिवसले हामीलाई राष्ट्र निर्माणको महाअभियानमा लामबद्द हुन प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् ।