प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रदेश खेलकुद: सिन्धुपाल्चोकलाई रामेछापले दियो चोट, मकवानपुर शानदार इन्ट्री मार्दै आयो बाटो छोड

२०७८ फाल्गुन ३०, सोमबार १४:१६ बजे

हेटौंडा – प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा आज (सोमबार) रामेछाप र घरेलु टोली मकवानपुर जिल्ला विजयी भएको छ ।

हेटौंडा–४ पिप्ले क्याम्पा रंगशालामा भएको पहिलो खेलमा पेनाल्टी सुटआउटमा रामेछापले सिन्धुपाल्चोकमाथि संर्घषपुर्ण जित निकालेको हो । निर्धारित ९० मिनेटमा दुबै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । रामेछापले सिन्धुपाल्चोकलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । 

पेनाल्टी सुटआउट रामेछापका लागि कृष्ण माझी, अनिल माझी, निकेश कार्की र सुमन नेपाली गोल गरेका थिए । सिन्धुपाल्चोकका लागि सुजन माझी र विज्ञान थिङले मात्रै गोल गर्न सफल भएका थिए ।

साझन माझी र राजकुमार तामाङको प्रहार रामेछापका गोलरक्षक युवराज तामाङले बचाउ गरेका थिए । दुई पेनाल्टी प्रहार रोक्दै टोलीलाई जित दिलाउन सफल युवराज म्यानअफ द म्याच घोषित भए ।

आजै भएको दोस्रो खेलमा घरेलु टोली मकवानपुरले नुवाकोटमाथि ३–० गोल अन्तरको शानदार जित निकाल्न सफल भएको छ । प्रतिस्पर्धात्म खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा नुवाकोटे टोली सम्हालिन सकेको फाइदा उठाउँदै मकवानपुरले ३ गोल गर्दै शानदार जित निकालेको हो ।

मकवानपुरलाई जित दिलाउनका लागि सुदिप सापकोटाले दुई र समिरराज थोकरले एक गोल गरेका थिए । सापकोटाले खेलको ७८ र ८३ औं मिनेटमा र थोकरले ६० औं मिनेटमा गोल गरेका थिए ।

मकवानपरलाई शानदार जित दिलाउन दुई गोल गरेका सापकोटा म्यान अफ दी म्याच घोषित भए ।

आज जित निकाल्ने टोली रामेछाप र मकवानपुर क्वाटरफाइलनमा प्रवेश गरेको छ । अब सेमिफाइनल प्रवेशको लागि रामेछापले ललितपुरसंग भिड्नेछ भने मकवानपुरले सिन्धुली र काठमाडौंबिचको विजेतासंग भिड्ने छ । 

प्रतियोगिताको पुरुष फुटबल अन्तर्गत भोली मंगलबार दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ बजे सिन्धुली र काठमाडौंबिच हुनेछ भने दोस्रो खेल दिउँसो ३ बजे भक्तपुर र रसुवाबिच हुनेछ ।