हेटौंडा – बागमती प्रदेशमा शनिबार एकैदिन विभिन्न घटनामा परी ७ जनाको मृत्यु भएको छ । दोलखा, सिन्धुली,चितवन, काभ्रे, रामेछाप, धादिङ र मकवानपुरमा एक–एक जनाको मृत्यु भएको छ । डुबेर र झुण्डिएर तीन-तीन जनाको मृत्यु भएको छ भने एक बेवारिसे शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
दोलखाको बैतेश्वर गाउँपालिका–३, पाईले घर भएका अन्दाजी वर्ष ४६ को गोपाल खड्काको पोखरीमा डुबेर मृत्यु भएको हो । तामाकोशी कृषक समुहमा २०–२२ दिनदेखि काम गर्दै आएको खड्का पोखरीमा डुबिरहेको अवस्थामा फेला परेपछि तत्काल उद्धार गरी अस्पताल लगिएको थियो । उनको लालिगुरासँ कम्युनिटि अस्पताल दोलखामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिन्धुलीको दुधौली नगरपालिका–२, भलुवाही बस्ने सुक देव कुमरको छोरा अन्दाजी वर्ष ८ को आयुष कुमरको डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार घर नजिकैको कमला खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
त्यस्तै चितवनको भरतपुर महानगरपालिका–१७, लप्टन डाँडा बस्ने भैरव सुनारको छोरा वर्ष ६ को प्रिन्स सुनार पोखरीमा डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार आफ्नै घर नजिकै खेलिरहेको अवस्थामा अचानक चिप्लिएर नजिकै रहेको पोखरीमा खस्न जाँदा सुनार गम्भीर घाइते भएका थिए । उनको जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रामेछापको सुनापती गाउँपालिका–३, हिलेदेवी बस्ने चमारसिंह तामाङको छोरी वर्ष १६ की जेसुङ तामाङ भुण्डिएको अवस्थामा फेला परेकी छन् । प्रहरीका अनुसार उनी आफ्नै घरदेखि अन्दाजी २०० मिटर पूर्वमा रहेको दुधिलोको रुखमा नाईलनको डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।
त्यस्तै धादिङको थाक्रे गाउँपालिका–६, महादेववेशी बजारस्थित रुद्र बहादुर नेपालीको घरमा चितवन खैरेनी नगरपालिका–४ शिवालय चोक घर बताउने वर्ष ३० को सन्तोष परियार मृत भेटिएका छन् । कोठा भाडामालिएर टेलर काम गरि बस्ने परियार घरको दोस्रो तलाको च्यानलगेटमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी मकवानपुरको मनहरी गाउँपालिका–५, वसन्तपुर बस्ने वर्ष २२ कि पार्वति लामिछाने मृत भेटिएकी छन् । आफ्नै घरको काठको धुरिको बलोमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै काभ्रेको रोशी गाउँपालिका–७, र नमोबुद्ध नगरपालिका–५ को सिमानास्थित रोशी खोलामा अन्दाजी ३५र४० वर्षको एक पुरुषको शव फेला परेको छ । नाम थर वतन नखुलेको पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।
सातै वटा घटनाको मुचुल्का सहित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।