प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पत्रकार बजगाईको ‘श्रमशक्ति ब्यवस्थापन’ पुस्तक हेटौँडामा विमोचन

२०७९ भाद्र ७, मंगलबार ०५:२८ बजे

हेटौँडा – मकवानपुरका अग्रज पत्रकार तथा लेखक लक्ष्मण बजगाईद्वारा लिखित ‘श्रमशक्ति ब्यवस्थापन’ पुस्तक हेटौँडामा सार्वजनिक भएको छ ।न्युज क्लब नेपाल हेटौँडामा मंगलबार भएको कार्यक्रममा पुस्तकको विमोचन भएको हो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, लेखक तथा विश्लेषक रामचन्द्र आचार्य, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणीराज गौतमले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।

आफ्नो १६ औँ पुस्तकबारे जानकारी दिँदै लेखक बजगाईले पुस्तकले श्रम बजार तथा श्रमशक्ति ब्यवस्थापनको बारेमा महत्वपूर्ण विषयलाई उजागर गर्न खोजेको बताए । पुस्तकबारे बोल्दै विश्लेषक आचार्यले पुस्तकले नयाँ विषयबारे बहस सुरु गरेको बताए । उनले बजगाईँको पुस्तकबाट स्थानीयदेखि केन्द्रीय सरकारसम्मलाई श्रम शक्ति ब्यवस्थापनको पाटोमा सहजिकरण गर्न सहयोग पुग्ने बताए ।

प्रमुख अतिथि प्रदेश सांसद पुलामीले अहिले पुस्तक पढ्ने र किन्ने परम्परा कम हुँदै गएको भन्दै यसो हुनु दुःखको विषय भएको बताए । पुस्तकबाट धेरै विषयको गहन अध्ययन गर्न सकिने भन्दै उनले बजगाईको पुस्तकले श्रमशक्ति ब्यवस्थापनको लागि सरकारी तथा गैरसरकारी निकायलाई सहयोग हुने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले बजारमा आएको श्रम शक्ति ब्यबस्थापन पुस्तकले नयाँ आम दिन सक्ने बिश्वास ब्यक्त गरे । पुस्तक अध्यानले बिभिन्न कार्यमा संलग्न श्रमिकहरुको दक्षता, शारिरीक, प्रबिधिक तथा बौद्धिक क्षमताको विकास हुने उनको भनाई थियो । 

१०१ पृष्ठको पुस्तकमा ३३ विषयमा श्रम शक्ति ब्यवस्थापनमा रहेको टिप्पणी गरिएको छ । पुस्तकलाई आइटि लाईजेसन नेपाल प्रालिका कृष्णप्रसाद कडेलले प्रकाशनमा ल्याएका हुन् । पुस्तकको सम्पादन विनय बजागाईले गरेका हुन् ।