हेटौंडा – गएको श्रावण २५ गते मकवानपुरको बकैया गाउँपालिका–८ देउता खोलास्थित स्थानीय ४८ बर्षीया पातली माया भोलन र ५१ बर्षीया जाली माया घिसिङबीच सामान्य विवाद भई झै–झगडा भयो ।
झगडाको क्रममा पातलीमायाले जालीमायाको टाउकोमा गहिरो चोट लाग्ने गरि कुटिन् । कुटपिटबाट घाइते भएकी जालीमायाको स्थानीय एक मेडिकलमा उपचार गराइन् । कुटपिटको घटनाको विवाद एक कान दुई कान हुँदै वडा कार्यालयसम्म पुगिसकेको थियो ।
घटना भएको तीन दिनपछि श्रावण २८ गते जालीमाया मेडिकलबाट डिस्चार्ज भइन् । वडाकार्यालयको न्यायिक समितिले पातलीले जालीको टाउको उपचार खर्च व्यहोर्ने सहमती गरायो । उक्त सहमति भएको तीन दिनपछि अर्थात श्रवण ३१ गते अचानक जालीमाया बेहोस भइन् ।
परिवारको सदस्यहरुले उनलाई तत्काल हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको लागि ल्याए । तर त्यहाँका चिकित्सकले यहाँ उपचार सम्भव नहुने भनेपछि उनलाई आफन्तले काठमाडौंस्थित शिक्षण अस्पताल लगे ।
त्यहाँका सम्बन्धित चिकित्सकले चेकजाँच गरेपछि जालीमायाको बचाउन सकिदैन भन्दै विरामीलाई घर लैजान सुझाब दिए । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार भदौ १ गते घर ल्याउने क्रममा जालीमायाले बाटोमै प्राण त्यागिन् ।
टाउकोमा गहिरो चोट लागेको कारण मृत्यु भएको जनाएपनि प्रहरीले मृत्युको ठोस कारण बाहिर ल्याएको छैन । जालीमायाको मृत्यु भएपछि प्रहरीले कुटपिटमा संलग्न पातलीमायालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले भदौ २ गते शनिबार बकैया गाउँपालिका–८ देउता खोला शिरस्थित आफ्नै घरबाट उनलाई पक्राउ गरेको हो । घटनाको बिषयमा पातली मायामाथि अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाईएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।