प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मिडिया स्तरीय फुटसल प्रतियोगिताको उपाधी एन्ड्रसलाई

२०८० माघ १९, शुक्रबार १९:३५ बजे

हेटौंडा – रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित मिडियास्तरीय फुटसल प्रतियोगिताको उपाधी टिम एन्ड्रसले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा आयोजक रेडियो मकवानपुरलाई २–० गोल अन्तरले पराजित गर्दै एन्ड्रसले उपाधी जितेको हो ।

एन्ड्रसको जीतमा सरोज पौडेलले दुई गोल गरे । रविन्द्र वाईबाको निर्णायक गोलमा खेलकुद पत्रकार मञ्च मकवानपुरलाई हराउँदै टिम एन्ड्रस फाइनलमा प्रवेश गरेको थियो । यस्तै उपविजेता आयोजक रेडियो मकवानपुर नेपाल पत्रकार महासंघलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

विजेता टिम एन्ड्रस अघिल्लो वर्ष खेलकुद पत्रकार मञ्चद्धारा आयोजित जिल्लास्तरीय मिडिया कपको विजेतासमेत हो । विजेता टिमलाई आगामी सोमबार सप्ताहव्यापी कार्यक्रम समापनका दिन पुरस्कार वितरण गरिने रेडियो मकवानपुरका स्टेसन म्यानेजर गनेश अधिकारीले बताए ।

रेडियो मकवानपुरले आफ्नो वार्षिकोत्सवमा अवसरमा गएको मंगलबारदेखि सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । पहिलो दिन सहिदको विषयमा रचना वाचन, दोस्रो दिन हेटौंडा क्याम्पसमा सेनटरी प्याड वितरण र तेस्रो दिन ओम वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको थियो ।

यस्तै शनिबार मनहरी–५ मा निशुल्क स्वास्थ्य शिविर, आइतबार बालमैत्री नगर निर्माणमा सरोकारवालाको भुमिका विषयक वत्तृत्वकला प्रतियोगिता आयोजना हुने र सोमबार समापन गरिने म्यानेजर अधिकारीले बताए।

रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको सभाध्यक्ष तथा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देल र मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा लगायतको आतिथ्यता रहेको थियो ।