मकवानपुर – वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट काठमाडौं जाने सिस्नेरी सडकखण्ड बुधबार बिहानैदेखि अवरुद्ध भएको छ ।इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित गएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त स्थानमा पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ वर्षासँगै सवारी आवागमनमा रोक लगाइएको छ । निर्माणकै क्रममा रहेको उक्त सडकमा बर्षाको कारण हुन सक्ने खतरालाई मध्यनजर गर्दै सवारी आवातजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
‘निर्माणकै क्रममा रहेकोले बर्षायाममा यात्रा गर्दा अप्रिय घटना घट्न सक्छ भनेर रोक लगाइएको हो । मकवानपुरतर्फ कतै अवरुद्ध भएको भन्ने जानकारी आएको छैन । ललितपुरतर्फको बाटो के छ ?, थाहा छैन ।’ प्रवक्ता कार्कीले भने । उनले काठमाडौं जाने कुलेखानी–फाखेल सडकखण्ड, त्रिभुवन राजपथ लगायतका अन्य सडक सञ्चालनमा रहेको बताए।
फाइनल तस्बिर