प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरगढीमा दिवा खाजा: साताको एक दिन रैथानेबालीको परिकार अनिवार्य

२०७९ पौष २९, शुक्रबार १५:३६ बजे

हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले विद्यालय दिवा खाजा कार्यक्रममा स्थानीय तथा रैथानेबालीको परिकार समावेश गर्ने निर्णय गरेको छ ।

बिहिबार बसेको कार्यपालिकाको बैठकले मकवानपुरगढी गाउँपालिकाभित्र रहेका विद्यालयहरूमा प्रत्येक हप्ता बिहीवारका दिन विद्यार्थीहरूलाई स्थानीय एवम् रैथानेबालीका परिकार दिवा खाजाको रूपमा समावेश गर्ने निर्णय गरेको गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए ।

स्थानीय स्तरमा उत्पादन भएका बस्तुको प्रवद्र्धनका गर्ने उद्देश्यले गाउँपालिकाभित्र सञ्चालनमा रहेका विद्यालयका विद्यार्थीहरुलाई हप्ताको एक दिन रैथानेबालीका परिकार दिवा खाजा समावेश गर्न लागिएको उनले बताए ।

कोदो र फापरबाट बनाईएको पिजा र विस्कुट ।

दिवा खाजामा एक दिन रैथाने परिकारलाई लागु गर्न पालिकाभित्रका विद्यालयको भान्सामा काम गर्ने कर्मचारीलाई माघको पहिलो सातादेखि प्रशिक्षण तथा तालिम प्रदान गरिने चौधरीले बताए ।

उनले कोदो, फापर, मकैको रोटी तथा हलुवा, सिमी, बोडी, मस्याङको तरकारी लगायतका विभिन्न परिकार दिवा खाजामा समावेश गरिने बताए । ‘गाउँको उत्पादन गाउँमै खपत हुने भएपछि गाउँको पैसा गाउँमै रहन्छ, स्थानीय उत्पादनको प्रर्वद्धन पनि हुने भो, यो कार्यक्रम सफल पनि हुन्छ,’ उनले भने ।

मकवानपुरगढी गाउँपालिका शिक्षा शाखाका प्रमुख रामबहादुर घलानका अनुसार पालिकाभित्रका ३८ विद्यालयका ६ हजार ७४ जना विद्याथीहरु रहेका छन् ।

नेपाल सरकारले मकवानपुरगढीमा बालविकासदेखि कक्षा ६ सम्मका विद्याथीका लागि १ करोड १६ लाख बजेट उपलब्ध गराएको घलानले बताए । त्यसमा पालिकाले ३५ लाख बजेट थप गरेर बालविकालदेखि कक्षा १२ सम्मका विद्याथीलाई दिवा खाजा खुवाउँदै आएको उनले बताए ।

कोदो र फापरको मःम र केक ।

स्थानीय किसानले उत्पादन गरेको बस्तुको परिबार विद्यालयमा दिवा खाजाको रुपमा खुवाने कार्य स्वागत योग्य रहेको अबिभावकहरु बताउँछन् ।  बाहिरबाट खरिद गरेर ल्याएको तुलनामा स्थानीय स्तरमा उत्पालन भएका केहीको मुल्य महंगो हुने भएकोले अध्ययन गरेर बजेट ब्यवस्थापन अबिभावकहरुको भनाई छ ।

यसअघि गाउँपालिकाले कोदो र फापरको मःम, पिजा, केक, बिस्कुट, निम्की, दुनोट, सेल लगायतको परिकार बनाउन तालिम प्रदान गरेको थियो । त्यस्तै पालिकाले रैथानेबाली कोदोको मूल्य प्रति केजी ४५ र फापरको मूल्य प्रति केजी ८० रुपैयाँ निर्धारण गरेको छ ।

कृषकले सहकारीमार्फत् विक्री गरेबापत गाउँपालिकाले प्रोत्साहनस्वरुप प्रतिकेजी रू २ र सहकारीलाई खरीद गरी भण्डारण र व्यवस्थापन गरेबापत प्रतिकेजी रू २ दरले अनुदान उपलब्ध  गराउँदै आएको छ ।

फापरको दुनोट र कोदोको सेल ।