प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा जंगली हात्तीको आतंक उग्र: गाउँबस्ती चार्दै, मान्छे मार्दै

२०७९ फाल्गुन १२, शुक्रबार ०१:३४ बजे

हेटौंडा – मकवानपुरमा जंगली हात्ती आतंकले उग्र रुप लिएको छ । मनहरी गाउँपालिकामा एक वृद्धाको ज्यान लिएको हात्तीले बकैया गाउँपालिकामा पनि एक पुरुषको ज्यान लिएको छ । 

बकैया गाउँपालिका–५ पावस निवासी ५० वर्षका जनकलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार गएराति बाख्रा ब्याएपछि करिब ८/९ सय मिटरको दुरिमा रहेको गोठमा जाने क्रममा बाटोमै हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट घाइते भएका माझीलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याईएको डाक्टरले मृत घोषण गरेको प्रहरीले जनाएको छ । शव हेटौंडा अस्पतालमा पोष्टमाटमको लागि राखिएको छ ।

सोमबारदेखि मकवानपुर जिल्लाको गाउँबस्ति चार्दै, मान्छे मास्दै गर्दा सम्बन्धित निकायले जनताको जिउधन सुरक्षामा ध्यान नदिएको स्थानीयहरु आक्रोसित भएका छन् । मानवबस्तीमा हात्ती प्रवेश गरेर दिनदिनै मान्छेमाथि आक्रमण गरी ज्यान लिदा पनि प्रशासन कानमा तेल हालेर बसेको स्थानीयहरुको आरोप छ ।

केही दिन अघिमात्रै हात्तीले मनहरी गाउँपालिका–४ मसिने बस्ने ६४ वर्षीया राधा अधिकारीको ज्यान लिदा हेटौंडामा एकजनालाई घाइते बनाएको थियो ।

नियन्त्रणको प्रयास जारी छ, सुरक्षित स्थानमा बस्न आग्रह: डिभिजन वन कार्यालय

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार नेपाली सेना, डिजिभन वन लगायतको टोलीसंग समन्वयमा हात्ती नियन्त्रणमा लिने प्रयास भइरहेको जनाएको छ । उता डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख शिव रापकोटालाई बकैयाको हात्ती गाउँगाउँ ढुलेर स्थानीयको ज्यान लिएको भन्ने बारे जानकारी समेत छैन । पर्सा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीसहित हात्ती नियन्त्रण प्रसाय भइरहेको सापकोटाको दाबी छ ।

सापकोटाका अनुसार तीन वटा जंगली हात्ती झापाबाट मकवानपुर आइपुगेको हो । तीन मध्य हेटौंडा हुँदै बकैया प्रवेश गर्ने हात्ती एक्कलीएकोले निकै  खतरा हुन सक्ने भन्दै सुरक्षित स्थानमा बस्न स्थानीयलाई आग्रह गरेका छन् । हात्ती जहाँबाट आएको हो, त्यही फर्किने भएकाले आफुहरु सोही अनुसार धपाउने कार्य गरिरहेको उनको भनाई छ ।