प्रहर खबर
 २०८१ बैशाख २०, बिहीबार    

हेटौंडाबाट साँढे ४७ लाखको सुन सहित प्रभु पक्राउ

२०८० असार २८, बिहीबार १३:११ बजे

हेटौंडा – मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट अबैध सुन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १ का वर्ष ३५ का प्रभु साह सोनार रहेका छन् ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत रातोमाटेस्थित सडक खण्डमा बिहीबार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना १ ज ७४९० नम्बरको सुमोमा सवार प्रभुलाई जाँच गर्ने क्रममा उनले बोकेको झोलाबाट ४८९ ग्राम ३७ मिलि ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । आजको बजार मूल्य अनुसार उक्त सुन ४७ लाख ३६ हजार ७५९ रुपियाँ बराबर रहेको उनले बताए ।

धातुसहित प्रभुलाई नियन्त्रण लिएर आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रवक्ता कार्कीले बताएका छन् ।