हेटौंडा – राज्यको रकम खर्च गरी संरचना बनाउने, पछि विभिन्न कारण देखाउँदै भत्काउने । यस्तो खालको गतिविधि बागमती प्रदेशको राजधानी हेटौंडा उपमनगरपालिकाभित्र देख्न पाइन्छ । दोस्रो जनआन्दोलनमा शहादत प्राप्त गरेका मकवानपुरका शहीद वासुदेव घिमिरेको नाममा निर्माण गरिएको सभागृह भत्काएको हेटौंडा उपमहानगरपालिकाले फेरि आफैले बनाएको स्ल्याब पनि भत्काएको छ ।
यो कुरा हो, हेटौंडा उपमहानगरपालिकाले वडा नं.५ स्थित रंगपथको । रंगपथ अन्तर्गत करिब एक सय मिटर भन्दा बढी स्ल्याब गरेको सडक भत्काएको छ । रंगपथ कान्तिलोकपथ अन्तर्गत पिप्लेबाट भैरबरोड जोडिने सडक हो । उपमहानगरपालिकाले आफ्नो ६० प्रतिशत र स्थानियको ४० प्रतिशतमा लगानीमा बनाएको सडकको स्ल्याब अदालतको आदेश भन्दै भत्काएको हो । सडकको स्ल्याब भत्काएपछि रंगपथको कल्भटबाट पिप्लेतर्फ करिब दुई महिनादेखि सडक अलपत्र अवस्थामा रहेको छ ।
किन भत्काईयो स्ल्याब स्ल्याब ?
स्थानियका अनुसार बि.सं. २०५९ सालमा तत्कालिन हेटौंडा नगरपालिकाको ६० र स्थानीयबाट ४० प्रतिशत लगानीमा सडक स्ल्याब गरिएको थियो । आर्थिक बर्ष २०७८/७९ मा चार मिटरको सडक ६ मिटर बनाउँन भन्दै वडा कार्यालयले बजेट विनियोजन गरेको थियो । स्थानीय चुनाव अगाबै निर्माण सम्पन्न गर्ने गरी काम समेत अगाडी बढाएको थियो ।
निर्माणको क्रममा स्थानीय देखामाया मानन्धरले आफ्नो मञ्जुरी बेगर आफ्नो नम्बरी जग्गामा सडक स्ल्याव ढलान गरिएको हटाउन माग गर्दै अदालतमा मुद्दा दिएपछि सडक निर्माण रोकिएको थियो । उनले २०७८ फागुन ५ गते जिल्ला अदातल मकवानपुरमा हेटौंडा उपमहानगरपालिकाको मेयर/उपमेयर, ५ नम्बर वडा कार्यालय, वडाअध्यक्ष, रंगपथ सडक निर्माण उपभोक्ता समिति, समितिका अध्यक्ष र ठेकेदारलाई विपक्षी बनाएर मुद्दा दायर गरेकी थिइन् ।

मुद्दा उपर हेटौंडा उपमहानगरपालिकाले फागुन ११ गते पहिलो बहसमा लिखित जवाफ सहित अदालतमा उपस्थित भएको थियो । पहिलो बहसमा मुद्दाको छिनोफानो नभएपछि चैत ९ गतेको दोस्रो बहस भएको थियो । उक्त बहसमा उपमहानगरले मानन्धरको मुद्दा विरुद्ध यथेष्ट प्रमाण पुर्याउन सकेन । अदालतले मानन्धरको पक्षमा मुद्दाको फैसला ग¥यो ।
अदालतले निवेदक देखामायाको निजी नम्बरी जग्गा निजको मञ्जुरी बेगर बाटो निर्माण नर्गन÷नगराउन र उनको नम्बरी जग्गामा निर्माण गरिएको स्ल्याव ढलान हटाउन आदेश दिएको थियो । अदातलको आदेश अनुसार हेटौंडा उपमहानगरपालिकाले मानन्धरको नम्बरी जग्गामा निर्माण भएको करिब एक सय मिटर भन्दा बढी स्ल्याब ढलान सडक भत्काएको हो ।
नगरपालिकाको लापरवाही
बाटो निर्माण गर्नुपुर्व मञ्जुरी नामा, वडाका सिफारिस, प्राविधिक स्टमेट, नगरपालिकाको इन्जिनियरले नापजाप गर्दछन् । तर, उक्त सडक स्ल्याब ढलान मञ्जुरी नामा, वडाका सिफारिस, प्राविधिकद्वारा नापजाँप नगरी हचुवाको भरमा बनाउँदा भत्काउनु परेको हो । सो सडकको हेटौंडा उपमहानगरपालिकासंग कुनै पनी अभिलेख नरहेको शहरी पुर्वाधार विकास शाखाका प्रमुख सत्यनारायण शाहले स्प्रष्ट पारे । ‘यो धेरै पहिलेको पुरानो बाटो हो । मलाई जहाँसम्म लाग्छ, डोरमणि सरको पालामा निर्माण भएको सडक हो,’ उनले भने, ‘यसको बारेमा हामीसंग केही पनि छैन ।’
मुद्दा छिनोफानो, बिवाद कायमै
सडक निर्माणको क्रममा परेको मुद्दाको छिनोफानो भएपनि बिवाद भने अझै सकिएको छैन । हाल चार मिटर रहेको सडकलाई ६ मिटर बनाउँने बिषयमा बिवाद भइरहेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार मानन्धर पक्षले नगरपालिकाको प्रविधिकका अनुसार नभई आफुले ल्याएको निजी क्षेत्रको प्राविधिकको नाप अनुसार सडक निर्माण हुने भनेपछि बिवाद देखिएको हो । सडक चौडा बढाउन सडकको नक्साको बीचबाट दुबैतर्फको बराबर भाग लिइन्छ । यो नियम देशभर लागु हुन्छ ।
.jpg)
काम गर्न समस्या समाधान हुनुपर्छ
पुर्वाधार विकास शाखाका प्रमुख सत्यनारायण शाहले सडक निर्माणमा भएको बिवाद समाधान गर्न जनप्रतिनिधिले स्थानीयसंग छफलफ गर्नुपर्ने बताए । उनले भएको बिवाद समाधन भए आफुहरु मापदण्ड अनुसार सडक निर्माण सडक गर्ने बताए ।
निर्माणको लागि सहमति
सडक निर्माणको बिषयमा भएको बिवाद मिलेको सोही वडाका वडाअध्यक्ष सुशिल घिमिरेले बताए । ‘पहिलो बिवाद थियो, अहिले समाधान भइसकेको छ,’ उनले भने, ‘अब केहि दिनमै सडक निर्माण सुरु गछौँ ।’ भत्काइएको स्ल्याब ढलान सडकको बिषयमा तात्कालिन नेतृत्व, कर्मचारी, उपभोक्ता समिति लगायतले ध्यान नपु¥याउँदा नोक्सानी बेहोर्नु परेको बताए । यस्तो नोक्सानी आगामी दिनमा हुन नदिको लागि आफुहरु गम्भीर भएर लाग्नु पर्ने उनको भनाई थियो ।
कति भयो नोक्सानी ?
हेटौंडा उपहानगरपालिका आफैले भत्काएको सडक, कति भत्कियो ? उपमहानगरलाई नै थाहा छैन । उपमहानगरको प्राविधिकसंग बुझ्दा के कति भत्कियो सडक आधिकारिक बिवरण दिन सकेनन् । एक सार्वसाधरण ब्यक्तिले अनुमान लगाउने हो भने सडक करिब १२० देखि १५० मिटरको स्ल्याब उप्काएर फालिएको देखिन्छ । प्राबिधिक इष्टमेट अनुसार १२० मिटर लम्बाई, उचाई ८ इन्ची र चौडाई चार मिटर स्ल्याब ढलानको खर्च करिब १० लाख हुन आउँछ । त्यस्तै १५० मिटर स्ल्याब ढलानको खर्च करिब १२ लाख हुन आउँछ ।

कुराकानीकै क्रममा हेटौंडा उपमहानगरकै पुर्वाधार विकास शाखाका एक कर्मचारीले भने, ‘रंगपथको यो एउटा उदाहरण हो । यस्तो समस्या धेरै छ । खोतल्दै जाने हो भने, कतिपय स्थानमा बनेको बाटो नै बन्द हुने स्थिति छ ।’ उक्त भनाईलाई आधार मान्ने हो भने रंगपथको जस्तो अवस्था हेटौंडाको अन्य पथमा नहोला भन्न सकिन्न।