हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.२ मा नेपाली कांग्रेसका वडाअध्यक्षका बागी (स्वतन्त्र) उम्मेदवार सुदिप राजबहाक (कोब्रा)ले आफ्नो चुनावी प्रचारप्रसार र घरदैलो अभियानलाई तिब्रता दिएका छन् । जोस र जागर भरिएका युवाहरुलाई लिएर उनी वडाका मतदाताको घरदैलोमा पुगेर भोटमा माग्न जुटेका हुन् ।
उनले शनिबार विहान वडा नम्बर २ को वनस्खण्डी,मनकामना चोक,मानसचोक,कांग्रेस चोक,संगम चोक लगाएत क्षेत्रका मतदातालाई मत मागेका थिए । उनीसंग उनलाई भोटमा माग्न सयौँ युवाहरु पनि मतदाताको घरमा भोट माग्न पुगेका थिए ।
भाषण भन्दा काममा विश्वास राख्ने सुदिप युवाहरुको साथ र सहयोगले चुनावी प्रचारप्रसार र घरदैलो उत्साहजनक भइरहेको बताउँछन् । “पहिलो चरणमा आफ्नो प्रतिबद्धता सहित घरदैलो अभियान सकियो, मतदान शिक्षा सहित दोस्रो चरणको घरदैलो अभियान सुरु भएको छ,” सुदिपले भने ।
नेपाली कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गरेका सुदिप २०७४ को स्थानीय तह चुनावमा वडासदस्य निर्वाचित भएका थिए । वडासदस्य भएर काम गर्दा बाँकी रहेको अधुरा अपुरा योजना पुरा गर्ने उनको लक्ष्य छ ।
भौतिक पुर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुद, आर्थिक उद्यमशिलता, युवा स्वरोजगार लगायत क्षेत्रलाई प्राथामिक्ता दिएर काम गर्ने उनको योजना रहेको छ ।