हेटौंडा – काठमाडौं उपत्यका बाहेक बागमती प्रदेशका १० जिल्लामा चालुआर्थिक बर्षको ६ महिनाको अवधिमा लागुऔषध ओसारपसारमा संलग्न २५७ जना पक्राउ परेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाद्वारा सार्वजनिक बिवरण अनुसार सो अवधिमा लागुऔषध गाँजा २ हजार ८८७ किलो, चरेश ९५ किलो, अफिम २ किलो र खैरो हिरोइन १८७ ग्राम बरामद भएको छ ।
त्यस्तै बिभिन्न प्रतिबन्धीत औषधिजन्य लागुऔषध २२ हजार ९१३ पिस, १ लाख ५ हजार ५०० मिलि लिटर तरलजन्य लागुऔषधसहित २५७ जना कारोबारीलाई पक्राउ गरेको जनाएको हो । साथै, २६,८६७ लिटर तयारी घरेलु मदिरा र कच्चा मदिरा २३,०८१ किलो बरामद गरेर नष्ट गरेको प्रहरीले जनाएको छ ।
अपराधमा संलग्न १ हजार ४०५ पक्राउ
सार्वजनिक बिवरण अनुसार चालु आर्थिक वर्ष पहिलो ६ महिनामा बागमती प्रदेश प्रहरी कार्यालय मातहतबाट बिभिन्न अपराधमा संलग्न १ हजार ४०५ जनालाई पक्राउ परेका छन् ।
प्रदेश प्रहरी कार्यालय मातहतका २३ वटा प्रहरी युनिटमा २ हजार १५३ वटा मुद्दा दर्ता भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।
मुद्दा दर्ताको फैसला कार्यान्वयनतर्फ ३८७ जनालाई पक्राउ गरेर जरिवाना गरेको प्रवक्ता रेग्मीले बताए । उनका अनुसार ४ करोड ८ लाख ६१ हजार ८९९ रूपैया जरिवाना संकलन गरेको छ ।
सो अवधीमा १८ नाल अवैध हातहतियार बरामद गरी ११ जना मानिसलाई पक्राउ समेत गरेको प्रवक्ता रेग्मीले बताए ।
फाइनल तस्वीर