प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

जिसस मकवानपुरमा गठबन्धनको प्यानलै विजयी, प्रमुखमा माओवादी केन्द्रका घलान निर्वाचित

२०७९ असार २, बिहीबार १०:४४ बजे

मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरमा सत्तारुढ गठबन्धनको प्यानलै विजयी भएको छ । जिसस मकवानपुरको प्रमुखमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललित कुमार घलान विजयी भएका छन् । उनले एमालेका उम्मेदवार बुद्धिराम डिम्डुङलाई पराजित गरेका हुन् ।

बिहीबार भएको निर्वाचनमा १७ मतसहित घलान प्रमुखमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी डिम्डुङले ३ मत प्राप्त गरेका छन् । जिल्लामा जम्मा २० मतदाता रहेका थिए ।

घलान हेटौंडा उपमहानगरपालिका वडा नं.१२ मा वडाअध्यक्षमा निर्वाचित भएका थिए । सत्तारुढ गठबन्धनबीचको भागबण्डामा जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख नेकपा माओवादी केन्द्रको भागमा परेपछि वडाध्यक्ष छाडेर उम्मेदवारी दिएका थिए ।

उपप्रमुखमा कांग्रेसका सानुकाजी लुईटेल र दलित तथा अल्पसंख्यक सदस्यमा एकीकृत समाजवादीकी सुनिता परियार निर्बिरोध निर्वाचित भएका छन् ।उनीहरु विरुद्ध कसैको उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भएको हुन् ।

जिसस सदस्यहरूमा गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । सदस्यहरूमा तारा ढुङ्गाना, विष्णुमाया थपलिया, सुमित्रा थिङ, खड्ग बहादुर पुलामी, सुवर्ण गोपाली र बिरेन्द्र कुमार लामा निर्वाचित भएका छन् । एमालेबाट उम्मेदवार बनेका बिना कुमारी थिङ लामा र तोयानाथ तिमल्सिना पराजित भए । 

प्रमुख–उपप्रमुखसहित ७ जना सदस्यहरू गठबन्धनबाट निर्वाचित भएका छन् । नेकपा (एस)बाट उम्मेदवार बनेका लामाले १६ मत प्राप्त गर्दा अन्य सबैले १७–१७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारहरूले ३–३ मत प्राप्त गरेका थिए ।

गठबन्धनमा सत्तारुढ दलहरुबिच भएको सम्झौताअनुसार उम्मेदवार तय गरेको हो । गठबन्धनमा माओवादी केन्द्रलाई प्रमुख, कांग्रेसलाई उपप्रमुख र ३ सदस्य, माओवादी केन्द्रले २ सदस्य र नेकपा एकीकृत समाजवादीबाट २ सदस्य लिएका थिए । उनीहरू सबै निर्वाचित भएका हुन् ।