प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा ९ मा एमालेको चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन

२०७९ बैशाख १, बिहीबार १२:१५ बजे

हेटौंडा – स्थानीय तहको निर्वाचन आउन १ महिना (३० दिन) मात्र बाँकी रहँदा हेटौंडा उपमहानगरपालिका वडा नं. ९ मा नेकपा एमालेले तयारी तीब्र बनाएको छ । एमालेको लालकिल्लाको रुपमा रहेको हेटौंडा-९ मा पुनः एमालेलाई बहुमतका साथ बिजयी गराउने भन्दै नेकपा एमाले ९ नं वडा कमिटी निर्वाचनको तयारीमा होमिएको हो ।

निर्वाचनलाई लक्षित गर्दै बिहिवार नेकपा एमाले ९ नं. वडाको चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गरिएको छ । नयाँ वर्ष २०७९ को दिन पारेर शुभकामना आदानप्रदान समेत गर्ने उद्देश्यले भएको कार्यक्रमका प्रमुख अतिथी तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले कार्यालयको उद्घाटन गरे । कार्यक्रमका बिच नेकपा एमाले हेटौंडा(९ नं। वडा कमिटी अध्यक्ष यदुवंश खतिवडाले वडा भित्र प्रचार प्रसारको लागि ७ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गरिएको घोषणा गरे । उक्त कमिटीको संयोजकमा खतिवडा आफै रहेका छन् ।

यसैगरी निर्वाचनका लागि नेकपा एमाले जिल्ला सदस्य नरेन्द्र भण्डारीको संयोजकत्वमा आर्थिक ब्यवस्थापन उपकमिटी, नारायण खतिवडाको संयोजकत्वमा प्रतिबद्धता पत्र निर्माण उपकमिटी, दिपक मिश्रको संयोजकत्वमा कार्यालय ब्यवस्थापन र आन्तरिक मत सर्वेक्षण उपकमिटी तथा विवेक दाहालको संयोजकत्वमा २०१ सदस्यीय स्वयम् सेवक उपकमिटी निर्माण गरिएको पनि अध्यक्ष खतिवडाले जानकारी दिए। यसैगरी कार्यक्रमका बिच ११ जना युवाहरु विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा एमाले मकवानपुरकी सह-इन्चार्ज जुनेली श्रेष्ठ, संविधान सभा सदस्य अनन्त पौडेल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, नेकपा एमाले बागमती प्रदेश सदस्य रघुनाथ खुलाल, एमाले मकवानपुरका सचीव नवीन सिग्देल लगायत जिल्ला सदस्य, नगर सदस्यहरुसहित वडाबासीहरुको उपस्थिति रहेको थियो ।

आसन्न निर्वाचनमा नेकपा एमलेबाट हेटौंडा-९ को वडा अध्यक्षको उम्मेदवारमा हालका वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीसहित नरेन्द्र भण्डारी र गोमा शाहको नाम वडा कमिटीले सिफारिस गरेको छ ।

एमालेबाट वडा अध्यक्षको उम्मेदवारको लागि जस्को नाम तय भएर आएपनि एमालेलाई बिजयी गराउन सबै लागीपर्ने पनि अध्यक्ष खतिवडाले प्रतिबद्धता जनाए ।

यस्तै वडा सदस्यतर्फ दलित महिला सदस्यमा पुनः लक्ष्मी नेपाली निर्विरोध रुपमा सिफारिस हुँदा महिला सदस्यमा मीना अर्याल पनि निर्बिरोध सिफारिस भएकी छन् । २ जना खुल्ला सदस्यका लागि भने ६ जनाको नाम सिफारिस भएको छ ।

२०७४ सालमा भएको अघिल्लो स्थानीय निर्वाचनलाई हेर्ने हो भने हेटौंडा-९ मा एमाले बिशाल शक्तिको रुपमा रहेको छ । उक्त निर्वाचनमा वडा अध्यक्षमा लक्ष्मण प्रसाद भण्डारी प्यानल नै बहुमतका साथ बिजयी भएको थियो ।