प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेशले ब्यक्तिलाई दिने अनुदान बन्द गर्ने: मुख्यमन्त्री जम्कट्टेल

२०७९ माघ २७, शुक्रबार १४:२५ बजे

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ठूला र समुदाय केन्द्रित योजनाहरुलाई प्राथमिकता दिएर काम गर्ने बताएका छन् । नेपाल समाजवादी पार्टी मकवानपुरले आज हेटौंडामा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले योजनाहरुमा न्युनतम कतिसम्म बजेट हाल्ने भन्ने आधार समेत तयार गरिने बताए ।

‘न्युनतम आधार तयार पारेर प्रदेश सरकारले योजनाहरुमा लगानी गर्नेछ’, उनले भने, ‘साना र टुक्रे योजनाका कारण प्रदेश सरकारले गरेका कामहरुको परिणाम प्रभावकारी देखिएको छैन ।’ बागमती प्रदेश सरकारले ब्यक्तिलाई दिने अनुदान पनि बन्द गरिने उनको भनाई छ । ‘अब हामी समुदाय केन्द्रित अनुदान मात्र बितरण गर्छौं, बन्दा समाज नै बन्नुपर्छ कुनै ब्यक्ति मात्र हैन’, जम्कट्टेले भने, ‘त्यसको सुरुवात यही वर्षबाट गर्दैछौं ।’मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले छिट्टै सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने बताए । देशको अबको यात्रा समाजवादी आन्दोलन भएकाले त्यसको लागि सबै माओवादी पृष्टभूमि भएका सबै दलहरु एक हुनु आवश्य रहेको उनको भनाई छ ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष गंगानारायण श्रेष्ठले नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच छिट्टै एकता हुने बताए । ‘प्रचण्ड र बाबुराम जि ले छुट्टा छुट्टै गर्नुभएको प्रयोग सफल देखिएन, अब एक भएर जानुको बिकल्प छैन’, उनले भने, ‘त्यसको लागि पार्टी एकताको अन्तिम तयारीम पुगेका छौं ।’

जनयुद्धले स्थापित गरेका एजेण्डाहरुलाई बलियो बनाउन पनि एकता आवश्यक रहेको उनको भनाई छ । बागमती प्रदेश सरकारले जनपक्षीय कामहरुको सुरुवात गरेको श्रेष्ठले बताए । ‘हामीले आधारभूत वर्गको पक्षमा काम गर्छौं, सरकार सबैको हो भन्ने अनुभूति दिलाउनेगरी काम गर्ने हाम्रो प्रयास हुनेछ ।’