प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रहर खबरका प्रधानसम्पादक आचार्यसहित १० स्रष्टा सम्मानित

२०७९ फाल्गुन १०, बुधबार ०२:५९ बजे

हेटौंडा – बकैया कला–साहित्य महोत्सव २०७९ तथा ३० औँ वार्षिकोत्सवको अवसरमा झरना साहित्यिक परिवारले स्रष्टा सम्मान अभियान अन्तर्गत प्रहर खबर डटकमका प्रधानसम्पादक भानुभक्त आचार्य सहित १० जना स्रष्टाहरूलाई पुरस्कृत तथा सम्मानित गरेको छ ।

जिल्लाको बकैया गाउँपालिका आयोजित एक समारोहबीच उक्त संस्थाको प्रचारप्रसार गर्न पत्रकारिताका माध्यमबाट सहयोग गरेवापत प्रधानसम्पादक आचार्यलाई नगद ११ हजार १ सय ११ सहित गोकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको हो ।

यस क्रममा वर्ष २०७९ सालको होमनाथ–टीकामाया प्रतिभा सम्मानबाट डा. जीवेन्द्र देव गिरी सम्मानित भएका छन् । साहित्यमा योगदान गरेबापत डा.गिरीले नगद २१ हजार १ सय २१ रुपैयाँ प्राप्त गरे ।

साहित्यको मुक्तक विधातर्फ शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मानबाट नगद १५ हजार ५ सय ५५ सहित सरु भक्त सम्मानित भए । साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत नवराज शर्माले बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान प्राप्त गरे । उनले पुरस्कार स्वरुप १५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे ।

खडानन्द–मनमाया प्रतिभा सम्मानबाट अमला अधिकारी, सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मानबाट अनिता न्यौपाने, सञ्जीवनी बुटी साहित्य सेवा सम्मानबाट कृष्ण प्रसाद चौँलागाई, खिम बहादुर खत्री स्मृति कलाकारिता सम्मानबाट ऋषि केबी सम्मानित भए । उनीहरुले जनही नगद ७ हजार ७ सय ७७ प्राप्त गरे ।

त्यस्तै ५ हजार ५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार कवि स्वस्तिका दाहालले प्राप्त गरिन् । बकैया गाउँपालिकाभित्र रहेका बिद्यालयहरुमा भएको साहित्यिक गतिबिधिको आधारमा झरना–महेन्द्र वाल साहित्य समिति र प्रभात माविका शिक्षक कुमार स्याङ्वोलाई सम्मानपत्र प्रदान गरिएको झरना साहित्यिक परिवारले जनाएको छ ।

फागुन ८ र ९ गते सञ्चालन भएको बकैया कला–साहित्य महोत्सवमा पहिलो दिन रचना वाचन, चित्रकला प्रतियोगिता र बकैया बिशेष रचना वाचन गरिएको थियो । त्यस्तै दोस्रो नवपुस्ता केन्द्रित रचना वाचन,बहसःचेतनाको विकासमा स्थानीय तहको भूमिका, खुल्ला कविता वाचन, गजल मुक्तक वाचनरगायन, सम्मानित स्रष्टाको मन्तव्य र रचना वाचन गरिएको साहित्यिक परिवारले जनाएको छ ।