हेटौंडा – मकवानपुरको एकमात्र सरकारी हेटौंडा अस्पतालमा पहिलो पटक जटिल किसिमको टाउकको सफल शल्यक्रिया गरिएको छ । जटिल प्रकारको टाउकोको दाहिने भागमा रगत जमेर बेहोस भएका हेटौंडा उपमहानगरपालिका–१५ का ५० वर्षीय पूर्णबहादुर थिङको सफल शल्यक्रिया गरिएको हो ।
विरामीको विश्वास, अस्पतालका चिकित्सकहरुको मेहेनतको कारण जटिल प्रकारको टाउकोको सफल शल्यक्रिया गर्न सफल भएको हो । थिङको हेटौंडा अस्पतालका न्युरो सर्जन डाक्टर विक्रमादित्य प्रसाद साह, एनेस्थेटिस्ट डाक्टर इश्वर सिलवाल, स्टाफ नर्स श्रीषा ढकाल सहितको टोलीले सफल शल्यक्रिया गरेको हेटौंडा अस्पतालले जनाएको छ ।
गोल्ड मेडलिस्ट समेत रहेका डाक्टर साहको विशेष पहलमा हेटौंडा अस्पतालमा पहिलो पटक जटिल शल्यक्रिया सफल बनेको हो । मेहनत गरेर काम गर्दा एकजना निकै कमजोर आर्थिक अवस्था भएको बिरामीको ज्यान जोगिएको उनले डाक्टर साहले बताए । हाल विरामीको अवस्था सामान्य रहेको बताउँदै उनले आज/भोलीमै डिस्चार्ज हुने बताए ।
हेटौंडा अस्पताल नयाँ भवनमा सरेपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनशक्ती थप गरेको थियो । त्यस यता अस्पतालको सेवा पनि थप प्रभावकारी बन्दै गएको देखिन्छ । हाल अस्पतालमा सामान्यदेखि जटिल शल्यक्रिया अस्पतालमै हुन थालेको छ ।
विगतमा सामान्य शल्यक्रियादेखि जटिल खालका बिरामी भरतपुरदेखि काठमाडौंसम्म जाँदा बिरामीहरूको उपचारमै लाखौँ रकम खर्च हुने गरेको थियो । तर, अहिले जिल्ला अस्पतालले विशेषज्ञ डाक्टर पाएपछि सहुलियत शुल्कमै बिरामीले शल्यक्रिया सेवा लिँदै आएका छन् ।