हेटौंडा – मकवानपुरमा एक वर्षको अवधिमा ७० वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका भएका छन् । नौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशनका लागि आयोजना गरिएको पुर्व समिक्षा कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
सार्वजनिक तथ्याङ्क अनुसार राज्यपक्षबाट ७ जना र अन्यपक्षबाट ६६ जना मानिस पीडित भएका छन् । जसमध्ये ५० जना महिला, २२ जना पुरुष र १ जना लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायको व्यक्ति पीडित रहेका छन् । बाल अधिकारका घटनामा २५ जना बालिका पीडित भएकोमा २१ जना बलात्कारमा परेका छन् । त्यस्तै ३ जना यौन दुर्व्यवहारका घटना र १ नवजात शिशु हत्याको घटनामा भएको थियो ।
मकवानपुरमा २५ वटा घटनामा महिला अधिकारका हनन् भएको थियो । २५ जना महिला पीडित भएकोमा १० जना बलात्कारबाट, ४ जना बलात्कारको प्रयासबाट, ४ जना बहुबिबाह र १ जना बेचबिखनको घटनामा पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख रहेको छ ।
यस अवधिमा ३ जना महिला र ५ पुरुष गरी ८ वटा हत्याका घटना भएका छन् । यस्तै १४ वटा हत्या प्रयासका घटनामा ३ महिला १० जना पुरुष र १ लैङ्गिक तथा अल्पसङ्ख्यक महिला पीडित भएको इन्सेकले जनाएको छ । यस वर्ष परिवारजनबाट ४ जना बालिका सहित ५ ओटा बलात्कार, १ यौन दुर्व्यवहार, १ बलात्कार प्रयास र १ नवजात शिशु छोरी सहित ६ ओटा हत्याको घटना प्रतिवेदनमा उल्लेख रहेको छ ।