प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

चोरीमा संलग्न मकवानपुरका लामा र स्याङ्तान प्रहरीको फन्दामा

२०८० बैशाख ३, आईतबार १४:१६ बजे

हेटौंडा – काठमाडौंको कीर्तिपुर नगरपालिका–६ चोभारबाट गाडी र सवारी साधनको पाटपुर्जाहरु पनि चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर ईन्द्रसरोबर गाउँपालिका– २ का २८ वर्षीय अशोक लामा र थाहा नगरपालिका–१२ का २३ वर्षीय किरण स्याङतान रहेका छन् ।  

जिल्ला प्रहरी परिसर काठमाडौंका अुनसार गत चैत ३० गते चोभारस्थित सुख्खा बन्दरगाहा अगाडी राजेन्द्र खड्काले पार्किङ गरी राखेको बा.५ च.९६५७ नम्बरको गाडी र चारघरेस्थितमा सुवर्ण महर्जनले संचालन गरेको चक्रतिर्थ मल्टिपरपोज प्रा.लि.को गोदामबाट सवारी साधनको पाटपुर्जाहरु चोरी भएको भएको थियो ।

तत्काल प्रहरी वृत्त किर्तिपुरबाट खटिएको टोली चोभारडाँडास्थित खाली चौरबाट चोरी भएको गाडी र सवारी साधनको पाटपुर्जाहरु सहित दुबैजनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट चोरी भएका टाटा डिआई गाडी एक थान, पानी तान्ने मोटर चार थान, गाडीको ब्याट्री एक थान र कवाडी पाईप, गाडीको गिल्सिन लगायत गाडीका विभिन्न पाटपुर्जाहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।  

बरामद गरिएको समान कुल ६ लाख ९९ हजार मुल्य बराबरको रहेको प्रहरीको अनुमान छ । लामा र स्याङतान विरुद्ध चोरी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।