प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा अपराध अनुसन्धान गोष्ठी

२०७९ श्रावण २५, बुधबार ०३:२९ बजे

हेटौंडा – नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल एवं बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको संयुक्त आयोजनामा “बागमती प्रदेश स्तरिय अपराध अनुसन्धान गोष्ठी– २०७९” आज एक कार्यक्रमवीच सम्पन्न भएको छ ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । यस समिक्षा गोष्ठीको प्रमुख उद्देश्य अपराध अनुसन्धानमा बढेको चुनौतिहरु र त्यसलाई समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्ने, बागमती प्रदेश भित्रका अपराध अनुसन्धान गर्ने ईकाईहरुको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरु वीचको अधिकतम परिचालन एवं अन्तरकार्यालयवीच समन्वयको विकास गर्नु रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री खनालले पछिल्लो समय अपराधिक प्रवृत्तिमा परिवर्तन हुँदै गईरहेकोले अनुसन्धान अधिकृतको क्षमता विकास एवं प्रविधिमुलक अपराध अनुसन्धानका निमित्त अनुसन्धानमा प्रयोग हुने स्रोत साधनको व्यवस्थापनमा जोड दिए । त्यसैगरी सामान्य किसिमका अपराधमा संलग्न कसुरदारलाई वैकल्पिक कारागारको अवधारणा अनुसार त्यस्ता व्यक्तिहरुलाई राज्यका विभिन्न विकास निर्माणका कार्यमा लगाउन सकिने र यसका लागि प्रदेश मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यन्यायाधिवक्ता माननीय श्याम नारायण श्रेष्ठले पछिल्लो समय अपराधको प्रवृत्तिमा परिवर्तन र यसको क्षेत्र फैलिदै गईरहेकोले प्रहरीलाई थप चुनौति थपिएको हुँदा प्रहरीले समेत आफुलाई सोही अनुसार तयारी अवस्थामा राख्नुपर्ने बताए । तथ्यपरक अनुसन्धानमा संकलन गरिएका प्रमाणहरुको परिक्षण र सोको रिपोर्ट केन्द्रबाट मात्र प्राप्त हुँदा अनुसन्धानमा ढिलाई पाईएको हुँदा प्रदेश स्तरसम्म प्रमाण परिक्षणको व्यवस्था मिलाउनका साथै हिरासतको सुधार गर्ने र अपराध नियन्त्रणमा स्कुले विद्यार्थीहरुलाई सचेतना दिन अपरिहार्य रहेको उनले बताए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी उत्तमराज सुवेदीले अपराध अनुसन्धान गर्ने तल्लो ईकाईमा बास्तविक अनुसन्धानमा देखिएका समस्याको बारेमा जानकारी लिने र समस्या समाधानमा कोशेढुंगाको रुपमा यस गोष्ठी रहनेछ भन्ने बताए। अपराधका प्रकृति र प्रवृत्ति परिवर्तित हुँदै गईरहेको तथा अहिलेका अपराधीको ट्रयाक रेकर्ड समेत नपाईएकोले प्रहरीले अवको अनुसन्धान प्रविधिमैत्री हुनुपर्ने बताए । कार्यक्रममा बोल्दै उनले हरेक नागरिकले आफ्ना सन्ततिलाई नैतिक शिक्षा अनिवार्य दिनुपर्ने विषयमा जोड दिए ।

चितवन जिल्लाका श्रीमान जिल्ला न्यायाधिश रितेन्द्र थापाले अपराध अनुसन्धानका तिन अवयवहरु अनुसन्धान ९प्रहरी०, अभियोजन ९सरकारी वकिल० र न्यायालयवीच निरन्तर समन्वय सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । अनुसन्धाननै न्याय निरुपण ९फैसलाको० प्रमुख आधार भएको हुँदा प्रहरीले यसलाई बढी संवेदनशिल भई अनुसन्धानमा विशेष ध्यान दिनुपर्ने बताए । कतिपय केशहरुमा अनुसन्धान फितलो हुनुका साथै प्रहरीको प्रविधिमैत्री अनुसन्धान कमजोर रहेको पाईएको हुँदा यस तर्फ साधनस्रोत व्यवस्थापन लगायत दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

कार्यक्रमा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अपराध अनुसन्धान क्षेत्रलाई विशिष्टिकृत गरी मुद्धा शाखामा काम गर्ने प्रहरी कर्मचारीहरुलाई उत्प्रेरणा गर्नुपर्नेमा जोड दिए । कानुनमा व्यवस्था गरिएका कार्यहरु गर्नको लागि राज्यले सहयोग गरेमा मात्र प्रविधिमैत्री अनुसन्धानमा सहयोग पुग्ने हुँदा सरकारले अपराध अनुसन्धानका क्षेत्रमा सहयोग गर्नुपर्ने अपरिहार्य रहेको बताए । त्यसैगरी उच्च सरकारी वकिल कार्यालय हेटौंडाका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले प्रहरीको क्षमता अभिवृद्धि गर्नुका साथै अनुसन्धानमा सरोकार राख्ने निकायसंगको समन्वय र सहकार्यमा जोड दिए ।

कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख किरण बज्राचार्यले अपराध गर्ने बदलिदो शैली एवं आवरण, फैलदो अपराधिक संजालको नेटवर्क तथा अन्तरराष्ट्रिय अपराध र संगठित अपराधको संख्यामा उलेख्य रुपमा वृद्धि हुँदै गईरहेको हुँदा प्रहरीले प्रविधिमुलक अपराध अनुसन्धानमा जोड दिई अपराध अनुसन्धानमा प्रमुख तिन पिल्लरको रुपमा रहेको अनुसन्धान, अभियोजन र न्याय निरुपण एक आपसमा समन्वय सहकार्य मार्फत मात्र पिडितले न्याय र वास्तविक पिडकले सजाय पाउने कुरामा जोड दिए ।

पहिलो चरणको समुद्‍घाटन कार्यक्रममा प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले स्वागत एवं कार्यक्रमबारे प्रकाश पार्नुका साथै बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रमको दोस्रो चरणकोकार्यक्रममा बागमती प्रदेश अन्तर्गतका ६ वटा जिल्ला प्रहरी कार्यालय प्रमुखहरुले अपराध अनुसन्धानको समग्र बस्तुस्थिति र अनुसन्धानमा गरिएका नविन प्रयोगहरुको विषयमा प्रस्तुतिकरण गरेका थिए ।

पहिलो चरण अन्तर्गतको समुद्‍घाटन समारोहमा बागमती प्रदेशका माननीय मुख्य न्यायाधिवक्ता श्याम नारायण श्रेष्ठ, नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरीक्त महानिरीक्षक उत्तमराज सुवेदी, जिल्ला अदालत चितवनका माननीय जिल्ला न्यायाधिस रितेन्द्र थापाज्यू, चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, आन्तरिक मामिला तथा कानून सचिव नारायण प्रसाद शर्मा, उच्च सरकारी वकिल कार्यालय हेटौंडाका सहन्याधिवक्ता सन्देश श्रेष्ठ, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य, प्रहरी नायव महानिरीक्षक संदिप भण्डारी, प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल, प्रहरी बरिष्ठ उपरीक्षकज्यूहरु, जिल्ला सुरक्षा समिति चितवनका पदाधिकारीहरु, बागमती प्रदेश अन्तर्गत जिल्लाहरुका प्रहरी प्रमुखहरु, जिल्ला न्यायाधिवक्ता महेश प्रसाद खत्री, विभिन्न संघसंस्थाका पदाधिकारीहरु संचारकर्मीहरु लगायत बागमती प्रदेश अन्तर्गत मुद्धा चल्ने ईकाईका प्रहरी एवं अनुसन्धान अधिकृतहरुको उपस्थिति रहेको थियो ।