प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पिप्लेले उपाधि रक्षा गर्न लिग विजेता मछिन्द्रसंग भिड्ने

२०७८ चैत्र ११, शुक्रबार १४:१८ बजे

हेटौंडा – साविक बिजेता पिप्ले युवा क्लबले छैटौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि रक्षा गर्न एडिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसंग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ ।

सर्लाहीको स्व.सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा मछिन्द्रले सुदुरपश्चिम–११ लाई ३–१ गोल अन्तरले हराउँदै पिप्ले युवा क्बलसंग भेट पक्का गरेको हो ।

मछिन्द्रलाई जित दिलाउनका लागि विशाल राई, विमल घर्ती मगर र विदेशी खेलाडी नुर्लान जाहिद नोभ्रुजोभले एकएक गोल गरे । प्रतिस्पर्धात्मक प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको दोस्रो तथा खेलको ४७ औँ मिनेटमा मछिन्द्रका विशाल राईले गोल अग्रता दिलाएका थिए । खेलको ६३ औँ मिनेटमा सुदुरपश्चिमका विपिन राज ठकुरीले गाले गर्दै टोलीलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यस्तै खेलको ८८ औँ मिनेटमा विमल घर्ती मगरको गोलबाट मछिन्द्रले अग्रता बनायो । विदेशी खेलाडी नुर्लानले खेलको ८४ औँ मिनेटमा गोल गर्दै मछिन्द्रले ३–१ को जित दिलाए ।

मछिन्द्रका देबेन्द्र तामाङ म्यानअफ द म्याच घोषित भए । उनले नगद १० हजार सहित ट्राफि हात पारे ।

विहिबार भएको पहिलो सेमिफाइनल खेलमा पिप्लेले आयोजक बागमती युवा क्लबलाई ट्राइब्रेकरमा ४–२ गोल अन्तर पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । 

लिग विजेता मछिन्द्र र साविक विजेता पिप्लेको उपाधि भिड्न्त १३ गते आइतबार हुनेछ । विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।