हेटौंडा – माध्यमिक शिक्षा परीक्षा (एसइई)को मुखमै हेटौंडाको एक सामुदायिक विद्यालयले सहयोग शुल्क नबुझाएको भन्दै विद्यार्थीहरुलाई मानसिक दवाब दिएको छ । हेटौंडा उपमहानगरपालिा वडा नं.१९ स्थित नेवारपानीमा रहेको अरनिको माध्यमिक विद्यालयले एसइईमा सहभागी हुने विद्यार्थीको प्रवेश पत्र रोकेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तालिका अनुसार एसइईको परिक्षा आउँन दुई दिन मात्रै बाँकी छ । यही बिहीबारबाट परिक्षा सुरु हुँदैछ । विद्यालयको ब्यवस्थापन समितिको स्रोतका अनुसार दुई हजार सहयोग शुल्क नबुझाएको भन्दै २४ जना विद्यार्थीको प्रवेश पत्र रोकिएको छ । अरनिको माध्यमिक विद्यालयबाट यस बर्ष ४९ जना विद्यार्थीले एसइईका लागि आवेदन दिएका थिए ।
सहयोग आफ्नो गक्षले गर्ने कुरा हो, गक्ष नहुने विद्यार्थीहरुलाई जबरजस्ती गर्नु विद्यालय व्यवस्थापन समितिको अर्कमन्यता भएको स्थानीय प्रकाश थोक्करले बताए । विद्यालयको हर्कतले परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई मानसिक रुपमा असर समेत पुगेको अविभावकहरुको गुनासो छ ।
नेपालको संविधानको धारा ३१ को शिक्षा सम्बन्धि हकको उपधारा २ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने उल्लेख गरेको छ । तर, विद्यालयले अविभावकहरुसंग छलफल नै नगरी ब्यवस्थापन समितिको बैठकले निर्णय गरी बालबिकासदेखि कक्षा १० सम्मका विद्यार्थीहरुबाट ५०० देखि २ हजारसम्म सहयोगको नाम दिएर शुल्क असुल्दै आएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गान्धी घलानले शुल्क नबुझाएका अविभावकसंग छलफल गरेर मात्रै विद्यार्थीलाई प्रवेश पत्र उपलब्ध गराउने बताईन । छलफलको लागि अबिभावक नआएपछि प्रवेश पत्र विद्यालयमै थन्किएको उनले बताईन् ।