हेटौंडा – डिभिजन वन कार्यालय हेटौंडाद्वारा प्रकाशित वातावरण शिक्षा नामक पुस्तक विद्यालयका विद्याथीहरुमा समर्पण गरिएको छ । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्काको प्रमुख आतिथ्यतामा पुस्तक विद्याथीहरुलाई समर्पित गरिएको हो ।
विद्याथीहरुलाई समर्पित गरिएको उक्त पुस्तकमा वातावरण शिक्षा र वातावरण संरक्षणसंग सम्बन्धित एक दर्जन लेखहरु छन् । मकवानपुरको वनजंगलको बारे, वन्यजन्तु, हाईकिङ्ग लगायत विषयमा पुस्तकमा चर्चा गरिएको छ ।
जिल्लाको विकट राक्सिराङ्ग गाउँपालिका बसोवास गर्ने चेपाङ, त्यहाँ पाइने फल चिउरी र चमेरोको पुस्तकमा कलात्मक रुपमा समेट्ने प्रयास गरिएको छ । पुस्तकमा थाहा आन्दोलनका प्रणेता स्वर्गिय रुपचन्द्र विष्टको बारेमा समेत चर्चा गरिएको छ । त्यस्तै पुस्तकमा संरक्षित जन्तु सालकको बारेमा पनि लेख समावेश गरिएको छ ।
पुस्तक समिक्षा मतब्यको क्रममा पत्रकार महासंघ बागमती प्रदेशका निर्वतमान अध्यक्ष प्रताप विष्टले विद्यार्थीहरुको लागि पठन योग्य रहेको बताए । उनले पुस्तकलाई अंग्रेजीमा अनुवाद गरेर अन्तराष्ट्रिय स्तरमा लैजानु पर्ने धारणा ब्यक्त गरे ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले पुस्तकलाई स्थानीय तहको पाठ्यक्रममा समावेश गर्ने विषयमा छलफल गर्न तयार रहेको बताइन् । डिभिजन वन कार्यालय राप्तिको किसानको साथी सालक अभियान सहयोग गर्ने उद्देश्यले हेटौंडा–१ स्थित राप्ती किनारमा पार्क निर्माण गर्ने घोषणा गरिन् ।
कार्यक्रममा डिभिजन वन कार्यालय राप्तीले सालकलाई मकवानपुरको मुख्य र गौरवको जनावरको रुपमा घोषणा गर्न जिल्ला समन्वय समिमिका प्रमुख लालित घलानलाई किसानको साथी सालक नामक ब्यानर हस्तान्तरण गरिएको थियो । सो अभियानलाई सार्थकता दिन १० वटै स्थानीय तहसंग समन्वय गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
प्रदेशका वन तथा वातावरणमन्त्री खड्काले पुस्तक प्रकाशित गरेर डिभिजन वन कार्यालय राप्तिले नमुना काम गरेको बताए । उनले पुस्तकलाई पाठ्यक्रममा समावेश गर्न सके वनजंगल तथा वन्यजन्तु संरक्षण महत्वपुर्ण भुमिका खेल्ने बताए ।
उनले सालकलाई मकवानपुरको गौरवको जनावरको रुपमा परिचित गराउन मन्त्रायलबाट आवश्यक गर्ने प्रतिवद्धता ब्यक्त गरे । वनजंगल र वन्यजन्तु संरक्षण गरेर वातावरण सन्तुलित राख्नु आमनागरिक दायित्व भएको बताउँदै आफ्नो तर्फबाट सरंक्षणमा जुट्न आग्रह समेत गरे ।
डिभिजन वन कार्यालय राप्तिका डिभिजन वन अधिकृत विष्णु प्रसाद आचार्यको अध्यक्षतामा भएको पुस्तक समर्पण कार्यक्रममा विभिन्न सरकारी निकाय, संघसंस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।