प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा शुरु भयो बागमती प्रदेश खेलकुदको दोस्रो 'महाकुम्भ'(तस्वीरसहित)

२०८० जेठ ७, आईतबार १६:१२ बजे

हेटौंडा – शुन्दरनगरी हेटौंडामा दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा एक भब्य समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकग्राम जम्कटेलले आइतबार साँझ प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

रङ्गशालामा प्रदेशको १३ वटै जिल्लाका खेलाडी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, अफिसियल, प्रशिक्षक, खेलप्रेमी र आम सर्वसाधारणको हजारौँ जनाको उपस्थितिका बीच समुद्घाटन गरिएको हो।

समारोहमा प्रदेशको १३ वटै जिल्लाका टिम, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास गरिएको छ। उद्घाटन समारोहको क्रममा खेलकुद प्रेमी दर्शकले भरिएको रङ्गशालामा सांस्कृति झाँकी प्रस्तुत गरिएको छ भने कलाकारहरुको साङ्गितिक प्रस्तुति समेत रहेको थियो । समारोहमा गायिका रचना रिमाल र बाल गायक जेनिस उप्रेतीले सांङ्गीतिक प्रस्तुती दिएका थिए । 

प्रतियोगिताको दोस्रो संस्करणमा १३ खेल समावेश गरिएको छ भने प्रदेशका १३ जिल्लाबाट २ हजार ५ सय २ जना खेलाडीहरु सहभागि छन् । प्रतियोगितामा २ सय १९ स्वर्ण २१९ रजत र ३५६ कास्य गरी कुल ७९४ पदकका लागि प्रतिस्पर्धा हुन लागेको हो।

देशमा प्रदेश संरचनामा निर्माणपछि बागमती प्रदेशले विं.सं. २०७९ मा पहिलो पटक प्रदेशस्तरको प्रतियोगिता आयोजना गरेको थियो । त्यतिबेला ८ वटा खेल समावेश गरिएको थियो । यस पिप्लेक्याम्पा रंगशालामा लगातार दुई संस्करण प्रदेश खेलकुद प्रतियोगिता उद्घाटन गरिएको हो । 

प्रतियोगिताको औपचारिक उद्घाटन आइतबार भएपनि खेलहरु सोमबारबाट सुरु हुनेछ ।  प्रतियोगिताको १३ खेलमध्ये ९ खेल मकवानपुरमा, दुई खेल काठमाडौंमा, चितवन र ललितपुरमा एक/एक खेल हुनेछ । 

उद्घाटनकै अवसरमा निर्णयकका तर्फबाट एथ्लेटिक्स् मुख्य प्रशिक्षक तथा निर्र्णायक चन्द्र बहादुर र खेलाडीका तर्फबाट धर्म महर्जनले प्रतियोगितामा समावेश सम्पूर्ण खेलमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय नियमअनुसार खेल्ने तथा खेलाउने प्रतिबद्धतासहित सपथ ग्रहण गरेका थिए ।

समारोहमा ओलम्पियन भक्त बहादुर सापकोटा, जित बहादुर मोक्तान र राम बहादुर गिरीले ओलम्पिक टर्च प्रज्वलन गरेर रंगशाला परिक्रममा गरेका थिए । यसअघि पहिलो संस्करणमा ओलम्पियन बैकुण्ठ मानन्धरले ओलम्पिक टर्च प्रज्वलन गरेर रंगशाला परिक्रममा गरेका थिए । 

प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र, शिल्ड तथा मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनमा ९ करोड ४२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । बागमती खेलकुल विकास परिषद्को आयोजना भएको प्रतियोगिताको यसै रंगशालमा यही जेष्ठ १३ गने समापन हुनेछ ।