प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको जंगलमा मन्त्री दुलालको सुरक्षाकर्मी झुण्डिएको अवस्थामा भेटिए, घटना शंकास्पद !

२०८० कार्तिक २१, मंगलबार १४:३२ बजे

हेटौंडा – बागमती प्रदेश भौतिक योजना तथा पुर्बधारमन्त्रि युवराज दुलालका ‘पीसओ’ अर्थात निजी सुरक्षाकर्मी मृत फेला परेका छन् ।

प्रहरी सहायक निरीक्षक यम बहादुर सुबेदी हेटौंडा उपमहानगरपालिका वडा नं.११ बनदेवी मन्दिर नजिकै सालको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

भण्डारीका अनुसार मकवानपुरको मनहरी गाउँपालिका वडा नं.७ विजौना घर भएका अन्दाजी ४५ बर्षीय सुबेदीको दरबन्दी ईलाका प्रहरी कार्यालय खानिखोला धादिङमा थियो ।

उनी मंगलबार बिहान साढे ६ बजेको समयमा झुण्डिएको अवस्थामा भेटिएका थिए । उनको शरिरको आधा भाग जमिनमा लत्रिएको अवस्थामा थियो ।

झुण्डिएको प्रकृती हेर्दा घटना शंकास्पद रहेको प्रत्यक्षदर्शीहरुको अनुमान छ । घटनास्थलबाट प्रहरी कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमाटको लागि हेटौंडा अस्पताल ल्याएको छ ।

मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजालले घटना शंकास्पद हो कि होइन् पोष्टमाटम रिर्पोट आएपछि मात्रै थाहा हुने बताए । ‘पोष्टमाटम रिर्पोट जस्तो आउँछ, सोही अनुसार हामी अनुसन्धान गर्छौँ,’ एसपी रिजालले भने ।