हेटौंडा – मकवानपुरको इन्द्रसरोबर गाउँपालिका– २ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा डाँडाघर बस्ने अन्दाजी ५३ वर्षीय तिर्थ लामा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार साँझ बिहेमा गएर घर फर्किने क्रममा लामा भिरबाट लडेका थिए ।
भिरबाट करिब ३०/४० मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
घटनाको जानकारी प्राप्त हुनासाथ अनुसन्धान तथा मुचुल्काको लागि प्रहरीको टोली घटनास्थलमा पुगेको प्रवक्ता कार्कीले बताए ।
यस्तो घटना पहिलो भने होइन । जिल्लाको ग्रामिण क्षेत्रमा भिरको गोरेटो बाटो भएकाले हिड्नु पर्ने बाध्यताको कारण लडेर ज्यान गुमाउनु परेको स्थिती छ ।
यसअघि राक्सिराङ गाउँपालिका वडा नम्बर–२ देउरालीमा गाउँपालिकामा भिरबाट लडेर स्थानीय ५० वर्षीय माईला थिङले ज्यान गुमाएका थिए । उनी पनि बिहेबाट घर फर्किने क्रममा लडेका थिए ।