प्रहर खबर
 २०८३ कार्तिक ६, बिहीवार    

हराइरहेको विमान भेटियो, दुर्घटनास्थल पुगेका भन्छन्– शव चिनिने अवस्था छैन

२०७९ जेठ १६, सोमबार ०३:४० बजे

काठमाडौं – हराइरहेको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

विमान पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको छ । दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा प्रहरीको उद्धार टोली पुगेको छ । फिस्टेल एयरबाट नेपाल प्रहरीका इन्स्पेक्टर राजकुमार तामाङ नेतृत्वको टिम घटनास्थलमा पुगेको हो ।

कोही पनि जीवित अवस्थामा नभेटिएको जहाज भएको स्थानमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्दुसिंह शेरचनले बताएका छन् । उनका अनुसार शवहरू चिनिने अवस्थामा छैनन् । केही शव टुक्रा परेको अवस्थामा गरेको उनले बताए ।

आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । जहाजमा चालक दलका ३ सदस्य सहित २ विदेशी, ४ भारतीय र १३ नेपाली गरी २२ जना यात्रु सवार थिए । जहाजको क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को पाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिइन् ।