हेटौंडा – चैनपुर जेसीज मनहरीको आयोजनामा शुक्रबारबाट दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिता शुरु भएको छ ।मनहरी गाउँपालिकाको ४ नम्बर वडास्थित मसिनेको गोलघर खेल मैदानमा शुरु भएको हो । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले प्रतियोगिताको उद्घाटन गरे।
प्रतियोगितामा हेटौंडा १३ पदमपोखरीको नमोबुद्ध एफसीले विजय यात्रा सुरु गरेको छ । उद्घाटन खेलमा मनहरी ४ नम्बर वडालाई २–० ले हराउँदै नमोबुद्धले विजय यात्रा सुरु गरेको हो ।
२६ औं मिनेटमा सुनिल लामाले गोल गर्दै नमोबुद्धलाई अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा सामुयल सुनारले अग्रता दोब्बर बनाए । मनहरी ४ ले गोल गर्ने केही मौका पाएपनि सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै बाहिरिएको छ ।
खेलको म्यान अफ द म्याच नमोबुद्धका सामुयल सुनार नै घोषित भए । उनले विभिन्न पुरस्कार प्राप्त गरे ।
जारी प्रतियोगितामा शनिबार हाँडीखोला यूथ क्लव र जनसिद्ध क्लवको बीचमा खेल हुने प्रतियोगिताका सहसंयोजक उज्वल विष्टले जानकारी दिए । मंसिर ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १६ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले एकलाख एकहजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १५१ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ र अन्य विधागत उत्कृष्टले जनही ३ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गर्ने अर्का सहसंयोजक प्रदीप थापाले जानकारी दिए ।