हेटौंडा – मकवानपुरको बागमती गाउँपालिका वडा नं.५ सिक्रेदोभानमा पहिरोमा परी बेपत्ता भएका ६ जनामध्ये एक जनाको १५ घण्टापछि जीवितै उद्धार गरिएको छ ।
सिन्धुली हरिहरपुर गाउँपालिका वडा नं. १ कोकटी बस्ने १७ बर्षीय पासाङ घिसिङको साँझ ७ बजे जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । उनलाई घटनास्थलदेखि करिब ७ किलोमिटर तल बागमती खोलाको किनारबाट उद्धार गरिएको प्रवक्ता कार्कीले बताए ।
कार्कीका अनुसार उद्धार गरिएको घिसिङको खुट्टामा समस्या देखिएको छ । उनको उपचारको लागि हेटौंडा अस्पताल ल्याईएको उनले बताए । पहिरोमा परी अझै ५ जना बेपत्ता भएका छन् । प्रहरी र स्थानीयको सहयोगमा बेपत्ताहरूको खोजी कार्य भइरहेको उनले बताए ।
अविरल वर्षाको कारण मंगलबार बिहान ४ बजे बागमती–५ सिक्रे दोभानमा खसेको पहिरोमा परी ६० बर्षीय अक्कल बहादुर स्याङ्तान उनको छोरी २२ बर्षीया शिला पहरी, ज्वाई २५ बर्षीय जिबन पहरी, नाती ४ बर्षीय मिलन पहरी, नातिनी डेढ बर्षीय दिब्या पहरी र सिन्धुली हरिहरपुर गाउँपालिका वडा नं। १ कोकटी बस्ने १७ बर्षीय पासाङ घिसिङ बेपत्ता भएका थिए ।
पहिरोमा परेका मध्ये अक्कल बहादुरको श्रीमती ५५ बर्षीया सन्तमाया स्याङ्तानको उद्धार गरी स्थानिय मेडिकलमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको चिन्ताजनक अवस्थामा उद्धार गरिएको थियो ।
सच्याईएको*