काठमाडौं – नेपालले पेरिस ओलम्पिक २०२४ का लागि महिला फुटबलको एसिया छनोटको पहिलो चरण अन्तर्गत समूह सी को छनोट आयोजना गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिकको छनोट अन्तर्गत समूह सी को छनोट नेपालमा हुने जनाएको छ ।
छनोटमा नेपालसँगै भियतनाम, प्यालेस्टानइन र अफगानिस्तान समूह ‘सी’ मा छन् । प्यालेस्टाइनले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपालले भेतनाम र अफगानिस्तानसँग मात्रै प्रतिस्पर्धा गर्नेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो चरणको छनोट खेलहरु आगामी अप्रिल ३ देखि ११ सम्म हुनेछ । पहिलो चरणमा सहभागी २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ ।
समूहको शीर्ष टोलीले दोस्रो चरणको यात्रा तय गर्ने छन् । उत्तर कोरिया, अष्ट्रेलिया, चीन, जापान र दक्षिण कोरिया यसअघि नै दोस्रो चरणमा पुगिसकेका छन् । दोस्रो चरणमा सबै टीमहरूलाई तीन समूहमा विभाजन गरिनेछ ।