हेटौंडा – चौथो संस्करणको स्थानीय तह सहिद स्मृती अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नव जनजागृती युवा क्लब विजयी भएको छ ।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा बागमती युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै नव जनजागृती विजयी सुरुवात गरेको हो ।
नव जनजागृतीका लागि विवेक चौधरी र कृपाकान्त चौधरीले एक–एक गोल गरे । विवेकले पहिलो आफको ८ औँ मिनेटमा गोल गर्दै एक शुन्यको अग्रता दिलाए ।
दोस्रो हाफमा कृपाकान्तले गोल गर्दै नव जनजागृतीलाई २–० गोलको जित दिलाए । उनले खेलको अन्त्य अर्थात ८० औँ मिनेटमा गोल गरे ।
खेलको म्यान अफ द म्याच विवेक चौधरी घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।
जितसंगै प्रतियोगिताको नव जनजागृती क्वाटरफाइनलमा प्रवेश गरेको छ भने बागमती प्रतियोगिताबाट बाहिरिएको छ । नव जनजागृती सेमिफाइनल प्रवेशको लागि घरेलु टोली विजयी युथ मकवानपुरसंग भिड्नेछ । खेल जेठ २५ गते हुनेछ ।
प्रतियोगितामा भोली शनिबार वि.एफ.सी क्बल चितवन र एडिभिजन टोली चर्च ब्वाइज क्बल काठमाडौंबिच हुनेछ । खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले ट्रफिसहित नगद १५ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछन् ।
त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले बुलेट बाईक प्राप्त गर्नेछ । विधागत उत्कृट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजना भएको प्रतियोगितामा एडिभिजन, मोफसल र विदेशी सहित १२ टोलीको सहभागिता रहेको छ । आज १९ गते सुरु भएको प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुने छ ।