प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पिप्ले लगातार दोस्रो पटक च्याम्पियन, स्तब्ध लिग विजेता मछिन्द्र

२०७८ चैत्र १३, आईतबार १४:१५ बजे

हेटौंडा – पिप्ले युवा क्लबले लगातार दोस्रो पटक राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा भएको फाइनल खेलमा पिप्लेले एडिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लबलाई सडनडेथमा पाखा लगाउँदै उपाधि जितेको हो ।

आइतबार भएको फाइनल खेलमा पिप्लेले मछिन्द्रलाई सडनडेथमा ४–३ गोल अन्तरले पाखा लगाएको हो । ट्राइब्रेकरमा दुवैतर्फबाट ३–३ गोल भएपछि खेलको निर्णय सडनडेथबाट निकालिएको हो । 

 सडनडेथमा पहिलो प्रहार गरेका मछिन्द्रका छिरिङ्ग गुरुङ अनलक्कि सावित भए । उनको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो । त्यसपछि रुपक लामाले गोल गर्दै पिप्ले गर्दै उपाधि दिलाए ।

यसअघि निर्धारित सयममा दुवै तर्फबाट गोल हुन नसके पछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा पनि ३–३ गोलको बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट लिइएको हो ।

ट्राइब्रेकरमा मछिन्द्रका सुजल श्रेष्ठ, विजय घिमाल र विदेशी खेलाडी करिमले गोल गरेका थिए । मछिन्द्रका विमल घती मगर र देबेन्द्र तामाङको प्रहार पिप्लेका गोलरक्षक अशोक बरालले विफल बनाएका थिए ।

त्यस्तै पिप्लेका अशोक खवास, समिराज थोकर र अमिर श्रेष्ठले गोल गरेका थिए । पिप्लेका कुल दिप कार्कीको प्रहार बाहिरिदा विदेशी खेलाडीको प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बचाउँ गरेका थिए ।

खेल अवधिभर केही दबाब सृजना गर्न खोजेको मच्छिन्द्रले पिप्ले माथि सशक्त प्रहार भने गर्न सकेन । खेलको निर्धारित समयमा दुबै टोली अवसर पाएपनि सदुपयोग गर्न सकेन । त्यसपछि फाइनल खेलको निर्णय सडनडेथबाट लिन परेको थियो ।

पिप्लेको यो दोस्रो सहभागिता दोस्रो पटक उपाधि हो । यसअघि पाँचौँ संस्करणको उपाधि आयोजक बागमती युवा क्लबलाई सडनडेथमै पराजित गर्दै उपाधि जितेको थियो । एडिभिजन लिग विजेता मछिन्द्रको यस प्रतियोगितामा पहिलो पटक सहभागिता हो । 

पिप्लेले पहिलो खेलमा हिमायलय शेर्पा क्लबलाई ३–० र आयोजकलाई ट्राइब्रेकरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । उता मछिन्द्रले पहिलो खेलमा विदेशी पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुन र सुदुरपश्चिम ११ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । 

ट्राइबे्रकरमा दूई वटा प्रहार बचाउँ गरेका पिप्लेका अशोक बराल फाइनल खेलको म्यानअफ द म्याच घोषित भए ।  उनले ट्रफि सहित नगद १० हजार प्राप्त गरे । 

पिप्लेलाई उपाधि दिलाउन उत्कृष्ट खेल प्रदर्शन गरेका रुपक लामा प्रतियोगिताकै सर्वोउत्कृस्ट खेलाडी घोषित भए । उनले ट्रफि सहित नगद ५१ हजार हात पारे । 

त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक मछिन्द्रका विशाल श्रेष्ठ, फरर्वाड विमल घर्ती मगर, मिडफिल्ड मछिन्द्रकै सुजल श्रेष्ठ, डिफेन्डर बागमतीका अमर श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक पिप्लेका सुविन घिमिरे घोषित भए । विधागत रुपमा उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले ट्रफि सहित नगद २५–२५ हजार हात पारे । 

त्यस्तै गरी प्रतियोगिताको उदयिमान खेलाडी बागमतीका बिमल घिसिङ घोषित भए । उनले २ सय सि.सि.को बजाज एन.एस. पल्सर मोटरसाइकल जिते ।

प्रतियोगिताको विजेताले पिप्लेले १० लाख राजर्षि रनिङ सिल्ड हात पार्दा उपविजेताले मछिन्द्रले ५ लाखमा चित्त बुझायो । बागमती युवा क्लबको आयोजना भएको खेलमा १२ टोलीको सहभागिता रहेको थियो ।