हेटौंडा – सरकारले हेटौंडाको तीन वटा वडामा पर्सा राष्ट्रिय निकुञ्चको क्षेत्र विस्तार गर्न लागेको भन्दै विरोध प्रदर्शन सुरु भएको छ । निकुञ्जले हेटौंडाको वडा नम्बर १२,१३ र १४ वडाका साथै मनहरी गाउँपालिकाको वडा नम्बर १ र २ मा आफ्नो क्षेत्र विस्तार गरी बस्ति नजिकै सेना व्यारेक राख्न लागेको भन्दै स्थानीयहरुलेले विरोध प्रदर्शन सुरु गरेका हुन् ।
उनिहरुले एक समिति बनाएर एक जुट हुँदै राष्ट्रिय पर्सा निकु्ञ्ज मध्यवर्ति क्षेत्र खाजेरको माग समेत गरेका छन् । उनिहरुले बस्ती र धार्मिक क्षेत्र संरक्षणका लागि निकुञ्ज क्षेत्र विस्तार रोकिनुपर्ने बताएका छन् ।
उनिहरुले विरोध प्रदर्शनमा ‘सामुदायीक वनमा भइरहेको प्रतिगमन बन्द गर, संरक्षण क्षेत्र विस्तार बन्द गर, मानव अधिकारको सम्मान गर, वन्यजन्तु आतंक नियन्त्रण गर,बाघ, हात्ती बचाउने नाममा जनता नमार,सामुदायिक वनलाई स्वायत्त अधिकार प्रदान गर, वनमा लगाइएको तेहोरो कर खारेज गर’ लगाएतका नारा लगाएका थिए ।
निकुञ्जको मध्यवर्ती क्षेत्र खारेज नभएसम्म आफुहरुको दैनिक जीवनयापन गतिविधिमा अवरोध हुने बस्ति संरक्षण समिति तथा संघर्ष समिति अध्यक्ष सुर्य थोकरले बताए। वन्यजन्तु संरक्षणको नाममा वर्षौ देखी रहदै आएको बस्ति उठाउन लागेको थोकरले आरोप लगाए।
विरोध प्रदर्शनमा सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरले पनि साथ दिएको छ । विभिन्न राजनीतिक दलहरुका प्रतिनिधिहरुले प्रभावित क्षेत्रको माग पुरा गर्न र निकुञ्ज विस्तारको कार्य नगर्न सम्बन्धित क्षेत्रलाई आग्रह गरेका छन् ।
प्रदर्शनमा फेकोफन मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, संघर्ष समितिका संयोजक सुर्य थोकर, वडा नम्बर १३ का वडा अध्यक्ष मनोजकुमार वाइवा, नेपाली कांग्रेसका क्षेत्रीय सभापति राजेश बानियाँ लगायत वडा नम्बर ११,१२ र १३ का स्थानीयहरुको सहभागिता रहेको थियो ।