प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा बाढीपहिरोमा परी ७ जनाको मृत्यु

२०८१ आश्विन १२, शनिबार २०:४७ बजे

हेटौंडा – मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–३ मा एक घरमा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ ।

शनिबार अविरल बर्षाको कारण आएको पहिरोले घरमा क्षति पुर्‍याउँदा २० वर्षिय फुलमाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरमा बर्षाका कारण बाढी र पहिरो परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । आजै इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत अखिल नेपाल फुटबल संघका ६ जना विद्यार्थीको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

बर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान जलाशयको ढोका खोलिएको थियो । त्यसैको कारण सिस्नेरी खोलामा जलसतह बढेसँगै विद्यार्थीहरुलाई सुरक्षित स्थानमा लैजाने क्रममा आएको पहिरोमा परेका थिए ।

सिस्नेरी खोलाले सिस्नेरी क्षेत्रमा वितण्डा मच्चाउँदा ३० वटा घरटहरा बगाएको छ भने २८ घर डुबाएको छ । त्यस्तै हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने सबै मार्गहरु पहिरोका कारण अवरुद्ध भएको छ ।

उता सिन्धुली प्रवेश गर्ने बागमती पुलमा समेत क्षति हुँदा मदन भण्डारी राजमार्ग अन्तर्गत हेटौंडा–सिन्धुली खण्ड अवरुद्ध भएको छ । जिल्लाको सहरी क्षेत्रमा सडक सञ्चालनमा रहेपनि ग्रामिण भेगका अधिकांश सडकहरु बाढीपहिरोले क्षति पुर्याएको छ । 

बागमती,राप्ती,कर्रा, बकैया, मनहरी लगायत खोलामा पानीको बहाव वढ्दा तटिय बस्तीहरु बगाएको र ढुवानमा परेको छ । बाढीपहिरोले के, कति ? क्षति गर्यो विवरण भने आउँन बाँकी छ ।

 

यो समाचार पनि पढ्नुहोस्