प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरगढी–२ बासीको मागलाई उच्च प्राथमिकता दिएर काम गर्छु: वडाअध्यक्षका उम्मेदवार सिंगार

२०७९ बैशाख २५, आईतबार १४:१२ बजे

हेटौंडा – विं.सं.२०२७ सालमा जन्मिएका सन्त बहादुर सिंगार १९ बर्षकै उमेरमा नेकपा एमालेबाट राजनीति सुरु गरे । उनी २०४६ सालबाट नेकपा एमालेको सक्रिय सदस्यता लिएर राजनीतिमा होमिए । २०५४ सालमा साविक मकवानपुरगढी गाविस वडा नं.३ मा पार्टीले वडासदस्य उम्मेदवार बनायो । उनी सदस्यमा निर्वाचित पनि भए ।

संघिय लोकतान्त्रीक गणतन्त्रपछि २०७४ मा पहिलो स्थानीय तहको निर्वाचन भयो । त्यसपछि यही बैशाख ३० गते दोस्रो स्थानीय तहको निर्वाचन हुँदैछ । विभिन्न पार्टीका स्थानीय तहको प्रमुख उपप्रमुख, वडाअध्यक्ष तथा सदस्यहरुको पदका लागि उम्मेदवारी दिएर चुनावी मैदानमा छन् ।

त्यस्तै सिंगार एमालेबाट मकवानपुरगढी गाउँपालिका वडा नं.२ को नेतृत्वमा आउँन आफ्नो समुह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । उनले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य,कृषि तथा पशुपालन, पर्यटन, खेलकुद, किशोरकिशोरी, बालबालिका, महिला, स्थानीय स्तरमा उत्पादित बस्तुको प्रर्वद्धनलाई प्राथमिकता दिएर काम गर्नेे बताए ।

इट्टा भट्टामा काम गर्न जाने, दलित, जनजाती र कम आय भएका सम्पुर्ण वडावासीलाई सिपमुलक तालिम प्रदान गरी आयआर्जनको कार्यक्रम ल्याउने सिंगारको योजना रहेको छ । त्यस्तै जिर्ण घरलाई निर्माण र जस्तापाता सहयोग गरी खरको छानो मुक्त तथा काठको पोलविस्थापन गर्ने उनले बताए ।

त्यस्तै खानेपानी, सडक, सिचाँई, पशु तथा कृषि पालनमा व्यवसायिककरण र यान्त्रिकीकरण र एक वडा एक कृषि तथा पशुप्राविधिको माग गरिने बताए । वडाको सबै घरमा विद्युत सेवा बिस्तार गरिने, एतिहासिक मकवानपुरगढी दरवार, ढुङ्गो गढी लगायत पर्यटकिय क्षेत्रसंगसंगै पर्यटकहरुलाई लक्षित गरि ब्यापारिक केन्द्रको रुपमा विकास लागि पहल गर्ने उनले बताए ।

लक्षित वर्ग सशक्तिकरण र जिवनस्तरको लागि सीप दक्षता बढाउने, आदिवासीहरुको घरेलुसिप र उद्यमशिलतालाई प्रवद्र्धन गरि आयस्तरमा बृद्धि गरिने गर्ने उनको योजना छ । त्यस्तै युवा स्वरोजगार वृद्धि गर्न कृषि, पशुपालन, पर्यटन प्रर्वद्धन, उद्योग, उद्यम लक्षित कार्यक्रम र सिप आर्जन गर्ने तालिम सञ्चालन गरि सहुलियतमा वित्तिय लगानी उपलब्ध गराउन पहल गर्ने बताए ।

महिलाको नेतृत्व तथा क्षमता विकास, बालबालिकालाई बालमैत्री अभियानको दिगोपनाको लागि गाउँपालिकासंग समन्वय गरी प्रभावकारी बनाइने र वडास्तरबाट पनि विषेश कार्यक्रम ल्याउने बताए । लक्षित बर्गको पहिचान गरि गरिबी निवारणको लागि गाउँपालिकासंग समन्वय गरी आयआर्जनको कार्यक्रम मार्फत गरिबीको सङ्ख्या घटाउने र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई माग गरी प्रभावकारी बनाउने बताए ।

त्यस्तै ढुङ्गा, गिट्टी, बालुवा, प्राकृतिक स्रोतबाट प्राप्त हुने राजस्व चुहावट न्युनिकरण गरिने वडाको आम्दानीमा बृद्धि गर्ने बताए । त्यस्तै गाउँपालिका तथा अन्य निकायबाट भएका काम कार्यवाही वडास्तरमा प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने बताए । माथि उल्लेख भएका सम्पुर्ण विकास निर्माणका कुराहरु वडाको दुर्गम भेगलाई प्राथामिक्तामा राखेर काम गर्ने उनको भनाई छ ।

माथि उल्लेख भएका साना योजनालाई दुई बर्ष मै र ठुला तथा मझौलालाई विभिन्न निकायहरुसंग समन्वय गरि पाँच बर्ष भित्र सम्पन्न गरिने बताए । उनले मतदाताबाट सुझाब संकल गरेको र सोही सुझाब अनुसार काम गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । “वडावासीले पाँच बर्ष अगाडि जे माग राखेका थिए । हाम्रो माग सम्बोधन नभएको उनिहरुको गुनासो छ । अहिले पनि त्यही माग राखिरहेका छन् । जनताको जे समस्या हो त्यसलाई प्राथामिक्तामा राखेर काम गर्नेछु,” उनले भने ।

पार्टी लिएको “मकवानपुरगढी गाउँपालिकाको समद्धिको आधार, सुशासन र विकासका लागि एमालेको स्थानीय सरकार” पवित्र नारालाई पुरा गर्नको लागि आसन्न निर्वाचनमा मकवानपुरगढीवासीले नेकपा एमालेका उम्मेदवारहरुलाई भोट दिएर विजयी गराउन उनले अनुरोध समेत गरेका छन् ।