हेटौंडा – बागमती प्रदेशको राजधानीमा रहेको भाटभटेनी सुपरमार्केटमा बिक्री बितरणका लागि राखिएको खानेतेल मात्र नभई अन्य खाद्य सामाग्री शंकास्पद रहेको पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट अनुमति नलिइएका चालम, बेकरीजन्य बस्तु, पाप्पड, उत्पादन बिवरण नखुलेको चुक अमिलो लगायतका बस्तु बिक्री वितरणको लागि राखिएको पाइएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाका अनुसार भाटभटेनीमा बिक्रीको लागि राखिएको उत्पादन नखुलेको ६ थान चुक अमिलो र तारास्वी खाद्य उद्योग, सैँबु–४, ललितपुरबाट खाद्य अनुज्ञापत्र नलिई उत्पादन गरेको १ बोरा चामल जफत गरिएको जनाएको छ ।
भाटभटेनीमा अनुमति नलिई उत्पादन गरिएको अपर क्रस्ट बेकरीका बेकरीजन्य वस्तुहरु र यूरेशियन फुड्स प्रा.लि. हेटौंडा, मकवानपुरबाट उत्पादित उत्तम ब्राण्डको पापड बिक्रि वितरणमा रोक लगाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाले जनाएको छ । साथै, खाद्य ऐन/नियम बमोजिम दुई थान नमूना संकलन समेत गरिएको कार्यालयले जनाएको छ ।
खाद्य ऐन/नियम कार्यान्वयनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडा, जिल्ला प्रशासन कार्यालय, मकवानपुर, हेटौंडा उप–महानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्चले संयुक्त रुपमा बुधबार भाटभटेनी सहित १३ वटा खाद्य व्यवसाय अनुगमन गरेको थियो ।