प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले गर्यो ९६ प्रहरीमाथि कारबाही

२०७९ माघ ५, बिहीबार ०५:३८ बजे

हेटौंडा – बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले काठमाडौँ उपत्यकाका तीन जिल्लाबाहेकका १० जिल्लाका ९६ जना प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गरेको छ ।

प्रदेश प्रहरी कार्यालय, हेटौँडाले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो छ महिनाको अवधिमा प्रहरीसम्बन्धी कानुन र आचरणविपरीत कार्य गर्ने ९६ जना प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको प्रदेश प्रहरी कार्यालय, हेटौँडाका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

प्रवक्ता रेग्मीका अनुसार सो अवधिमा आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्य गर्ने ४६६ जनालाई पुरस्कृत गरिएको छ ।प्रदेश प्रहरी कार्यालयले प्रहरी कर्मचारीको मनोबल अभिवृद्धि गर्न प्रत्येक महिना १५ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने गरी उत्कृष्ट प्रहरी छनोट कार्यविधि कार्यान्वयनमा ल्याएको छ ।

चालू आर्थिक वर्षको गत साउनदेखि पुससम्मको अवधिमा प्रहरीको सेवा प्रवाहमा योजनाबद्ध प्रणाली विकास गर्नुका साथै प्रशासनिक एवं कर्मचारीको आचरण र व्यवहार सुधार, अपराथ रोकथाम एवं नियन्त्रण तथा फरार प्रतिवादी पक्राउ, प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा सुरक्षालगायतका महत्वपूर्ण कार्य सम्पादन गरेको रेग्मीले बताए ।