प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौं सडक आइतबारबाट सञ्चालनमा आउने

२०८१ आश्विन १९, शनिबार २१:२४ बजे

हेटौँडा – हेटौँडा–कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौं जोड्ने सडक आइतबार दिउँसोबाट सञ्चालनमा आउने भएको छ। असोज ११ र १२ गते भएको अविरल वर्षाका कारण आएको बाढीपहिरो हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने सबै सडकमा क्षति गरेको थियो ।

हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौं सडकखण्डअन्तर्गत कुलेखानी ड्याममुनि डाइभर्सन निर्माण र महालक्ष्मी खोलाले भत्काएको बाटो मर्मत भएपछि आइतबारबाट सवारीसाधन सञ्चालन हुने भएको हो।

यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक पुष्करप्रसाद पोखरेलले फाखेल सडकखण्डमा भएका अवरोध पन्छाउने क्रम अन्तिम चरणमा रहेकाले भोलि आइतबारबाट सडक सञ्चालन आउने हो। कुनै ठूलो समस्या नआए भोलि दिउँसो १ बजेबाट सञ्चालन गर्ने विषयमा छलफल भएको उनले बताए ।

काठमाडौ प्रवेश गर्ने त्रिभूवन राजमार्ग सञ्चालन छ भने बाढीले मकवानपुर र ललितपुर जोड्ने बागमती पुलमा ठुलो क्षति पुर्याउदा कान्तिलोकपथ अझै सञ्चालनमा आउन सकेको छैन ।