प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

उदयपुरमा पनि बुढ्यौली साहित्य समाज

२०८० असार १८, सोमबार १५:४० बजे

हेटौंडा – वृद्धावस्था केन्द्रित साहित्य लेखनलाई अघि बढाउने उद्देश्यका साथ उदयपुरका साहित्यकारको भेलाले ‘बुढ्यौली साहित्य समाज उदयपुर’ गठन गरेको छ । मकवानपुरका साहित्यकार तथा बुढ्यौली साहित्य समाजका उपाध्यक्ष रामचन्द्र आचार्य ‘फुर्सती’ र रमेशमोहन अधिकारीको उपस्थितिमा भएको भेलाले उदयपुरमा तदर्थ समिति गठन भएको हो ।

कार्यक्रममा उपस्थित साहित्यकारले आफ्नो बुढ्यौली अवस्था केन्द्रित रचनावाचन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि फुर्सतीले ‘वृद्धवृद्धालाई एक्लोपनको अनभूति हुने भएकाले बुढ्यौली साहित्य समाजले उहाँहरुको आवाज बोल्न र एक्लोपन हटाउन सहयोग पुग्ने’ धारणा राखेका थिए । भेलाले एघार सदस्यीय समाजको कार्यसमिति गठन गरेको छ । साहित्यकार शारदाप्रसाद भट्टराईको अध्यक्षतामा गठन भएको कार्यसमितिमा सचिव उद्दब घिमिरे, कोषाध्यक्ष माधब पोख्रेल, सदस्यहरु केदारकुमार कार्की, भीम घासे, श्यामकर्ण राई, श्याम ढुँगाना, ऋषिकेश पोखरेल, कुमारी मास्के, सरिता पौडेल, सम्झना असफल चयन भएका छन् ।

मकवानपुरमा सर्वप्रथम गठन भएर देशभर संजाल बनाउने क्रममा अगाडि बढाएको बुढ्यौली साहित्य समाजको चितवन, भक्तपुर, रौतहट, महोत्तरी, सिन्धुली, ललितपुर, सर्लाहीलगायत जिल्लामा कार्यसमिति गठन भइसकेको छ ।