हेटौंडा – हेटौंडा उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुले आज सपथग्रहण गरेका छन् । हेटौंडाको पल्पसाहलमा आयोजित कार्यक्रममा मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उपमहानगरपालिकाका मेयर मिना कुमारी लामालाई सपथग्रहण गराएका हुन् । त्यसैगरी मेयर लामाले उपमेयर राजेश बानियाँ, १९ वटै वडाका वडा अध्यक्षहरु र वडा सदस्यहरुलाई सपथग्रहण गराइन् ।
सपथग्रहण कार्यक्रमलाई संबोधन गर्दै मेयर लामाले हेटौंडा उपमहानगरपालिकालाई समृद्ध नगर बनाउने अठोट गरिन् । चुनाबमा पराजित भएकाहरुले पनि जितेको महसुस गर्नका लागि आग्रह गर्दै उनले भनिन्–‘हामीले प्राविधिक रुपमा जितेका हौं । प्रतिपक्षी दलको घोषणापत्र र हाम्रो घोषणापत्रलाई लिएर संगै काम गछौं ।’ नगरको विकासका लागि सबै एक भएर काम गर्ने उनले बताइन् ।
कार्यक्रममा उपमहानगरपालिकाका निवर्तमान मेयर हरि बहादुर महतले हेटौंडामा निर्वाचित सबै जनप्रतिनिधिहरुलाई बधाइ ज्ञापन गरे । पाँच वर्ष सम्म नगरको सेवा गर्ने अवसर प्रदान गरेकोमा हेटौंडा उपमहानगरवासीलाई समेत धन्यवाद दिए । उपमहानगरपालिकाको विकासमा सबै जनप्रतिनिधिहरु लाग्नेमा उनले विस्वास व्यक्त गरे ।
सपथग्रहण कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, संविधानसभाका सदस्य प्रलाद लामिछाने, गोविन्दराम चेपाङ, शेरबहादुर पहरी, प्रदेशसभाका मुख्यसचेतक मुनु सिग्देल, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय सममिति मकवानपुरका निवर्तमान प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा लगायतकाको आतिथ्यता रहेको थियो ।