प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरगढीमा सेवा प्रभावित हुने गरी कार्यकर्ता भर्ती गर्ने खेल, सेवा प्रवाहमा नहोस झेल

२०७९ असार ३२, शनिबार ०९:११ बजे

हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले सेवा नै प्रभावित हुने गरी एकैपटक ८३ जना करारमा कार्यरत कर्मचारीलाई हटाउने निर्णय गरेको छ । असार ३१ गते बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिकाभित्रको सेवा प्रभावित हुने गरी आफ्नो आफन्त र कार्यकता भर्ति गर्न विभिन्न क्षेत्रमा कार्यरत ८३ जना कार्मचारीलाई हटाउने निर्णय गरेको हो ।

असार मसान्तदेखि करार म्याद सकिएको भन्दै गाउँपालिका कार्यालय मतहतका वडा कार्यलय, स्वास्थ्य चौकी लगायत कार्यालयमा करारमा कार्यरत कर्मचारीलाई हटाएको हो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले एक सुचना जारी गरी उक्त कर्मचारीहरुको जिम्ममा भएका नगद तथा जिन्सी सामाग्रीहरु कार्यालयमा बरबुझारथ गर्न र हाजरी नगराउनको लागि गाउँपालिकाको विभिन्न शाखा, वडाकार्यालयहरु, स्वास्थ्य चौकी, इकाईलाई निर्देशन दिएका छन् ।

गाउँपालिकाको सेवा १५ दिन बढी प्रभावित 
गाउँपालिकाले एकैपटक ८३ जना कर्मचारीलाई पदमुक्त गर्दा गाउँपालिको विभिन्न सेवा नै प्रभावित हुने भएको छ । गाउँपालिकाले पदमुक्त गरेको स्थानमा कर्मचारी नियुक्ती र सिफारिस गर्न १५ दिन लाग्ने भएपछि गाउँपालिकाको महतहका शाखा तथा स्वास्थ्य क्षेत्रको सेवा प्रभावित हुने भएको हो । गाउँपालिका प्रत्यक्ष वा अप्रत्यक्ष सेवाहरु अधिकांश प्रभावित हुने निश्चित छ ।

आफ्नो आफन्त र कार्यकर्ता भर्ती गर्ने चलखेल
भनिन्छ कार्य अनुभावले पोख्त बनाउँदै जान्छ । तर मकवानपुरगढी गाउँपालिकाले पाँच बर्ष कार्य अनुभाव बटुलेका कर्मचारीलाई हटाउँदै आफ्नो आफन्त र कार्यकर्ता नियुक्ती गर्न लागेको हो । करारका कर्मचारीहरु यसअघिका नेतृत्वले नियुक्ती दिएका कर्मचारीहरु हुन् । गाउँपालिकामा हाल आएका नेतृत्वले धेरै जसो एमाले निकट कर्मचारी भएकोले उनिहरुलाई हटाएर गठबन्धन निकट कर्मचारी ल्याउने तयारी भइरहेको बुझिएको छ । साउन १५ भित्र करारमा नयाँ कर्मचारी सिफारिस गर्ने वडा नं.६ का वडाअध्यक्ष कृष्ण बजागाईको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

गाउँपालिका कर्मचारी कटौती, सेवाबाट बञ्चित हुने डर 
गाउँपालिकाको आयस्रोत कमजोर भएको भन्दै कर्मचारी कटौती गर्ने योजनामा रहेको बताईएको छ । गाउँपालिकाले स्रोतका अनुसार स्वास्थ्य, पशु, कृषि, महिला तथा बालबालिका लगायत क्षेत्रका कर्मचारी कटौती गर्ने भएको हो । ‘कुन क्षेत्रबाट कति कर्मचारी कटौती हुन्छ ? थाहा छैन, कर्मचारी कटौती चाहिँ हुन्छ ।’ स्रोतले भन्यो । कर्मचारी कटौती हुने जानकारी पाएपछि विभिन्न सेवाबाट बञ्चित हुनेडरमा स्थानीयहरु त्रसित भएका छन् । 

कर्मचारी छनौटको पुर्व तयारी नै छैन
सरकारी होस् या निजी कुनै पनि काम गर्दा पुर्व तयारी राम्रो हुनुपर्छ । तर मकवानपुरगढी गाउँपालिकाले पुर्व तयारीनै नगरी ठुलो सङ्ख्या कर्मचारीलाई निष्कासन गरी भर्तीमा जुटेको छ । कर्मचारी छनौट गर्ने न नीति छ, न विधीनै । करारका कर्मचारी हटाउने निर्णयपछि नियुक्ती प्रक्रियाबारे गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानसंग बुझ्दा उनले कर्मचारी छनौटको नीतिरविधी तयार गर्न बाँकी रहेको बताए ।

अध्यक्ष स्याङ्तानले वडा नं। ६ का वडाअध्यक्ष कृष्ण बजागाई, गाउँपालिका कार्यलयका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद पुडासैनी सहितको टोलीले नीतिरविधी निर्माण गरि कर्मचारी नियुक्ती गर्ने बताए । गाउँपालिकाको बजेट घाटामा रहेकोले आवश्यकता भन्दा बढी कर्मचारी धान्न नसक्ने उनको भनाई थियो । यस विषयमा थप कुरा बुझ्न समितिका संयोजक बजागाईलाई सम्पर्क गर्दा फोन उठेन ।