प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा ठुलो परिमाणमा गाँजा बरामद, पाँच जना पक्राउ

२०७८ चैत्र १४, सोमबार १३:४१ बजे

हेटौंडा – मकवानपुरको छुट्टाछुट्टै स्थानबाट साढे दुई क्विन्टल भन्दाबढी लागूऔषध गाँजासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुचनाको आधारमा मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नंं.२ चौकीटोलमा पिकअप गाडिबाट युवकलाई लागूऔषध गाँजासहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा हेटौडा उप–महानगरपालिका १३ पदमपोखरी बस्ने बर्ष २८ को अरबिन्द नेपाली रहेका छन् ।भैसेबाट हेटौडातर्फ आउदै गरेको प्र. ३–०१–०२३ च ५६४० नम्बरको पिकअप गाडीबाट १६५ किलो ८०० ग्राम लागूऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै, मनहरी गाउँपालिका वडा नं. ६ बाट १०० किलो गाँजासहित चार जना भरियालाई पक्राउ गरेको छ । लोथर खोला हुँदै खयरघारीतर्फ पिढ्युमा गाँजाको भारी बोकेर आइरहेका धादिङ रोराङ्ग गाउँपालिका–२ बस्ने वर्ष ३० को मान बहादुर चेपाङ्ग, सोही स्थान बस्ने वर्ष ३९ को सन्त बहादुर चेपाङ्ग, मनहरी गाउँपालिका–३ बस्ने वर्ष ५३ को बुद्धी बहादुर थिङ्ग र चितवन राप्ती नगरपालिका–११ बस्ने वर्ष ५५ को सञ्च बहादुर थिङ्गलाई चेकजाँच गर्दा उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

गाँजा बरामद भएपछि गाडी र उनिहरुलाई उक्त लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।