हेटौंडा – मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) गएरातिबाट सुरु भइसकेको छ । तर, मकवानपुरमा भने केहि उम्मेदवार भोटमाग्न हिडेको पाइएको छ ।
मकवानपुर क्षेत्र नं.१ को (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार एकालाल श्रेष्ठले मौन अवधिमा भोट माग्दै गरेको अवस्थामा भेटिएका छन् । श्रेष्ठ कार्यकर्ता सहित शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नं.४ क्षेत्रका ब्यवसायीहरुसंग भोट माग्दै गरेको अवस्थामा भेटिएका हुन् ।
शुक्रबार साँझ पाँच बजेको समयमा हेटौंडा–४ कान्तिलोकपथ सडक क्षेत्रमा रहेको ब्यवसायीहरुलाई भेट्दै भोट मागेका हुन् । त्यस्तै हेटौंडा उपमहानगरपालिका वडा नं.४ का वडाअध्यक्ष नविन सिग्देल पनि श्रेष्ठलाई भोट माग्दै गरेको अवस्थामा भेटिएका थिए ।
प्रहर खबरका प्रतिनिधिले मौन अवधिमा पनि भोट माग्दै ? भन्ने प्रश्नमा श्रेष्ठसंगै हिडेका अनेरास्ववियु मकवानपुर जिल्ला कमिटी सचिव पुष्कर तिमल्सिनाले ‘भोटघाट र चिनजान मात्रै हो, भोट मागेको होइन’ भन्दै प्रतिक्रिया दिएका थिए । तर, सोही क्षेत्रमा एक पसल संचालकलले श्रेष्ठले आफुसंग भोट मागेको जिकिर गरे ।
नाम नखुलाउने सर्तमा अर्का एक ब्यवसायीले ‘श्रेष्ठले आफु एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवार भएको चिनाउँदै मंसिर ४ गते भोट हाल्न आग्रह गरेको बताए । ‘ म एकालाल श्रेष्ठ, मकवानपुर–१ को (ख)को उम्मेदवार, मलाई सुर्य चिन्हमा भोट दिनुहोला भन्दै आउनु भएको थियो,’ ती ब्यवसायीले सुनाए ।
यस विषयमा श्रेष्ठको प्रतिक्रिया लिन फोन सम्पर्क गर्दा उनको फोन उठ्न । उनी नेकपा एमाले मकवानपुरका अध्यक्ष समेत हुन् ।