प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

फास्ट ट्रयाक तोकिएको समयमा सम्पन्न गर्न सेनालाई चुनौती, सुरुङ र पुलको काम कति भयो ?

२०७९ पौष २७, बुधबार १८:४४ बजे

हेटौंडा – ७२ दशमदभ ०६ किलोमिटर दुरीको काठमाडौं–तराई–मधेस द्रुतमार्ग(फाष्ट ट्याक)२०८१ साल सम्ममा निर्माण गर्ने लक्ष्य सहित २०७४ सालमा नेपाली सेनाले लिएको थियो । अब करिब दुई बर्षको अवधि बाँकी रहदा फास्ट ट्रयाकको २१ दशमलव ७४ प्रतिशत भौतिक प्रगति भएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनालाई तोकिएको समयमा द्रुतमार्ग(फाष्ट ट्याक) निर्माण सम्पन्न गर्न चुनौती देखिएको छ । नेपाली सेनाका अनुसार माग अनुसारको बजेट, खोकनामा जग्गा अधिग्रहण विवाद, रूख काट्ने प्रक्रिया ढिलाई हुनु लगायतका कारण तोकिएको समयमा निर्माण सम्पन्न नहुने देखिएको हो ।

सेनाले फास्ट ट्रयाक निर्माणको काम २०७५ सालबाट सुरु गरेकोमा ट्रयाक निर्माण कार्य सम्पन्न भएको छ । अहिले सुरुङ्ग उत्खनन् र पुल निर्माणको काम धमाधम भइरहेको लेनडाँडा अस्थायी क्याम्पका प्रमुख सेनानी रामसागर यादवले जानकारी दिए । कोभिड–१९ का कारण समयमै ठेक्का लगाउन नपाएकोले भौतिक प्रगति कम देखिएको उनले बताए ।

झन्झटिलो कानुनी प्रक्रिया र कोरोनाले समयमै काम सुरु गर्न नपाउँदा ठेक्का समयअवधि ६ महिना लम्बिन सक्ने सेनाको अनुमान छ । सरकारले कानुनी झन्झट समाधान गरेर पर्याप्त मात्रमा बजेट उपलब्ध गराउनुका साथै जग्गा मुआब्जा विवाद मिलाउन सकिएको खण्डमा योजना तोकिएको समयमा निर्माण सम्पन्न हुने सेनाको दाबी छ ।

ललितपुरको खोकनामा जग्गा मुअब्जा वितरण हुँन नसक्दा विवाद कायमै रहेकोले सेनालाई काम गर्न कठिन भइरहेको छ । ५ हजार १७२ रोपनी जग्गा मध्ये ३९२ रोपनीको मुआब्जा वितरण हुँन नसक्दा जग्गा अधिग्रहण रोकिएको सेनाले जनाएको छ ।

खोकनाको समस्या समधान नहुँदा मार्ग निर्माण सामानहरु ल्याउन कठिनाई भइरहेको सेनाको भनाई छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालुआर्थिक बर्षमा फास्ट ट्रयाक निर्माणका लागि ३० अर्ब ०७ करोड ८६ लाख बजेट बिनियोजन गरेको छ ।

सुरुङ निर्माणको काम कति भयो ?
फास्ट ट्रयाकमा महादेवडाँडा, धेद्रे र लेनडाँडा गरी तीन वटा सुरुङ रहेको छ । जसको आउँने र जाने छुट्टाछुटै टनेल बनाएर उत्खननको काम भइरहेको छ । जसको लम्बाई ६ दशमलव ७५७ किलोमिटर रहेको छ । यसको उचाई ८ मिटर रहनेछ भने चौडाई १३ मिटरको बनाईएको छ ।

नेपाली सेनाका अनुसार दुई चिनिया कम्पनीले १२ स्थान मध्ये ९ स्थानमा आउने र जाने (दुबैतर्फ) सुरुङ उत्खनन् गरिरहेको छ । बाँकी ३ स्थानमा पोर्टलको काम चलिरहेको सेनाले जनाएको छ । सेनाका अनुसार समग्रमा करिब १ किलोमिटर सुरुङ उत्खनन् काम भएको छ ।

फास्ट ट्रयाकको सबैभन्दा लामो ३ दशमलव ४४५ किलोमिटरको महादेवडाँडातर्फ इनलेट(प्रवेश) दायाँ २४६ र बायाँ २७७ मिटर/आउटलेट(बाहिरिने) दायाँ २१९ र बायाँ २८२ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।

त्यस्तै १ दशमलव ६९० किलोमिटर दुरीको धेद्रतर्फ इनलेट(प्रवेश) दायाँ ३७२ र बायाँ १९० मिटर/आउटलेट(बाहिरिने) दायाँबायाँ उत्खननको काम हुन सकेको छैन । त्यसैगरी लेनडाँडातर्फ इनलेट(प्रवेश) दायाँ १८४ र बायाँ १५३ मिटर/आउटलेट(बाहिरिने) बायाँ २१ मिटर उत्खनन् हुँदा दायाँ सुरुङ खन्ने तयारी भइरहेको सेनाले जनाएको छ ।

सेनाका अनुसार पहिलो प्याकेजको ठेक्का सम्झौता रकम २१ अर्ब ६१ करोड रुपैयाँ छ । दोस्रो प्याकेजको सम्झौता रकम २८ अर्ब ५३ करोड रुपैयाँ छ ।

पुलको काम के हुँदैछ ?
७२.०६ किलोमिटरको फास्ट ट्रयाकमा १०. ५९६ किलोमिटर पुलको भागले ओगट्नेछ । सो दुरीमा कुल ८७ वटा पुल रहनेछन् । जसमध्ये ७१ वटा सामान्य र १६ वटा विशेष प्रकृतिको पुल बनाईने सेनाको डिपिआरमा उल्लेख छ ।

सेनाका अनुसार ती पुलको पहिलो प्याकेज अन्तर्गत १६० वटा पिल्लरको बेस मध्ये २१ वटाको काम सम्पन्न भएको छ । त्यस्तै दोस्रो प्याकेजमा १६० वटा मध्ये २२ वटाको काम सम्पन्न भएको छ । बाँकीको बेसको निर्माण कार्यको तयारीमा रहेको सेनाले जनाएको छ ।