प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

नगर प्रमुख कलवारद्वारा ‘बञ्जिका भाषा र मिडिया’ विमोचन, अधिकारी सम्मानित

२०७९ असार २४, शुक्रबार १३:२२ बजे

मकवानपुर – पत्रकार एवम् साहित्यकार द्वय सञ्जय शाह र गिरिजा अधिकारी द्वारा लिखित बञ्जिका भाषा र मिडिया नामक पुस्तक विमोचन गरिएको छ । बञ्जिका साहित्य संगम रौतहटको आयोजनामा शुक्रबार गरुडामा आयोजित प्रतिभा सम्मान तथा पुस्तक विमोचन कार्यक्रममा गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद कलवारले सो पुस्तक विमोचन गरेका हुन् ।

मेयर कलवारले लेखक अधिकारी र शाहको लेखनयात्राको निरन्तरताको कामना गरे । उनले भने, ‘सञ्जयजी, गिरिजाजी पत्रकारितासँगै लेखनको बाटो भएर सत्यको मार्गमा अघि बढिरहनुहोस्, यहाँहरुको लेखनले मधेश र मधेशीहरुको पहिचान बञ्जिका भाषाको संरक्षणमा महत्वपूर्ण योगदान पुगेको छ, अझै अन्य विषयमा रचनात्मक ढंगले कलम चलाउनुहोला ।’

उनले नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कला, साहित्य, भाषा, संस्कृतिलगायतको क्षेत्रलाई पनि समेटिएको बताए । ‘हामीले केही कार्यक्रमहरु तय गरेका छौँ । सरोकारवालाहरुसँग छलफल गरी आगामी दिनमा भाषा, साहित्य एवम् संस्कृतिको संरक्षण, र प्रवद्र्धनमा अझै प्रभावकारी रुपमा नगरपालिकाले काम गर्नेछ । हामी सँगै छौँ ।’ उनले भने ।

सो अवसरमा साहित्यकार विश्वराज अधिकारीले मधेश क्षेत्रको भाषा, संस्कृतिको संरक्षणका सन्दर्भमा पहाडी र हिमाली समूदायकोसमेत सहयोग आवश्यक रहेको बताए । उनले आफु लामो समय अमेरिकामा रहेको भएपनि लेखन र साहित्यमार्फत् स्थानीय कला, भाषा तथा संस्कृतिको जगेर्णा गर्न लागिपरेको बताए ।

कार्यक्रममा सो पुस्तकका लेखक अधिकारीले पुस्तकमा बञ्जिका भाषाको अवस्था, यसको प्रभाव, महत्व, संरक्षणको क्षेत्रमा देखिएका चुनौती, आगामी दिनमा गर्नुपर्ने तयारी, भाष्णा प्रवद्र्धनको क्षेत्रमा मिडियाको भूमिकालगायतका विषयमा तथ्यसहितका जानकारीहरु समावेश गरिएको बताए ।

सो अवसरमा साहित्यकारहरुले उक्त पुस्तकमाथि समिक्षा गरेका थिए भने बञ्जिका भाषामा कविता सुनाएका थिए । संगमका अध्यक्ष किसन दयाल यादवको अध्यक्षतामा भएको कार्यक्रमलाई पुस्तकका लेखक शाहले सहजिकरण गरेका थिए । कार्यक्रममा साहित्यकार विश्वराज अधिकारीलाई नगद ५ हजार राशीसहितको तुल्सी साहित्य सम्मान प्रदान गरिएको थियो भने लेखक एवम् तु खबर डटकमका सम्पादक अधिकारीलाई बञ्जिका भाषाको विस्तार, अध्ययन, अनुसन्धान र प्रवद्र्धनको क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा नगरपालिकाकी उपमेयर पुनम कुमारी चौधरी, साहित्यसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।