हेटौंडा – नेकपा एमालले आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि मकवानपुरको १० वटा स्थानीयत तह प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षको उम्मेद्वार छनौट सुरु गरेको छ । वडापालिकाको उम्मेद्वार छनौट अन्तिम चरणमा पुगेसंगै पालिकाको प्रमुख र उपप्रमुखको उम्मेद्वार छनौट सुरु गरेको हो ।
जसअन्तर्गत एमालेले जिल्लाको बागमती गाउँपालिका, थाहा नगरपालिका, राक्सिराङ र भिमफेदी गाउँपालिकाको प्रमुख र उपप्रमुखको उम्मेद्वार छनौट गरेको छ ।
आसन्न स्थानीय तहको निर्वाचनको लागि एमालेले मकवानपुरको बागमती गाउँपालिकामा अध्यक्षमा खेमराज जर्गा मगर, छिरिङदोर्जे लामा, नरबहादुर लामा र राजकुमार तिमल्सिनाको सिफारिस गरेको छ । त्यस्तै उपाध्यक्षमा गोपीकुमारी फुँयाल, बर्तमान उपाध्यक्ष धनमाया स्याङतान, राधिका तिमल्सिना, सर्मिला विक र सविना योञ्जनलाई सिफारिस गरेको छ ।
त्यस्तै नेकपा एमाले थाहा नगरले आशन्न स्थानीय निर्वाचनका लागि प्रमुख र उपप्रमुख पदका लागि दुईरदुई जना सिफारिस गरेको छ । प्रमुख पदका लागि बिष्णु प्रसाद ढकाल र शशीधर सुबेदीलाई सिफारिस गर्ने निर्णय गरेको छ । यसैगरी उपप्रमुखमा कल्पना बलामी र चमेली वाइवालाई सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यस्तै राक्सिराङ्ग गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको नाम चयन गरेको छ । गाउँकमिटीको बैठकले अध्यक्षमा बाबुलाल स्याङ्तान र उपाध्यक्षमा सुन्तलीमाया प्रजालाई सर्वसम्मत सिफारिस गरेको हो ।
त्यसैगरी भीमफेदी गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा बर्तमान अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई नै उठाउने निर्णय गरेको छ । भीमफेदी एमाले गाउँ कमिटी बैठकले गाउँपालिकाको अध्यक्षमा बर्तमान गाउँपालिकाका अध्यक्ष लामा तथा उपाध्यक्षमा वर्तमान उपाध्यक्ष रानालाई नै उठाउने सर्वसम्मत निर्णय गरेको हो ।
अघिल्लो स्थानीय निर्वाचनमा भीमफेदी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुबै जना कांग्रेस माओवादीको गठबन्धनलाई पराजित गर्दै एमालेका उम्मेद्वार लामा र राना विजयी भएका थिए ।