हेटौंडा – मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा रैथाने बालीको महत्व र पोषण सम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ । गाउँपालिकाभित्रमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई रैथाने बालीको महत्व र पोषण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो ।
स्वास्थ्य स्वयंसेविकाहरु गाउँमा सूचनाको संवाहकको रुपमा रहेको र उनीहरुलाई रैथानेबालीको महत्वबारे जानकारी दिई खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्याउने, रैथानेबाली संरक्षण,सम्वर्द्वनमा महत्वपूर्ण भूमिका निर्वाह पुर्याउने उदेश्यले अभिमुखीकरण तालिम संचालन गरिएको गाउँपालिकाका कृषि विकास शाखाका प्रमुख चन्द्रकान्त चौधरीले बताए ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दार्जे लामा स्याङतानको सभाध्यक्षतामा संचालन भएको कार्यक्रममा वडा नं १ देखि ६ सम्मका स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा रैथानेबाली कोदोको सेल र हलुवा खाजा समेत खुवाइएको थियो ।